तपाईँ सुन्दै हुनुहुन्छः

उद्योग दिवसमा धनुषाका साना उद्यमी सम्मानित

जनकपुरधाम । “स्वदेशी उत्पादन अभियान : उद्यमीको सम्मान” मूल नारासहित उद्योग दिवस २०८० धनुषामा पनि मनाइएको छ ।

घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा भएको कार्यक्रममा विभिन्न प्रकारका घरेलु तथा साना उद्योग सञ्चालन गर्नुभएका सम्मान गरिएको थियो ।

कार्यक्रममा साना उद्यमीहरूले बैङ्कबाट सहुलियत लघु कर्जा पाउन नसकेको, उत्पादित समानको बजारीकरण तथा प्राविधिक प्रशिक्षणमा समस्या हुने गरेको गुनासो गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले धनुषामा आफ्नो कार्यकालमा १० वटा ठूलो उद्योग स्थापना गराउने लक्ष्य लिएकोमा ७ वटा स्थापना भएको बताउनुभयो । उहाँले दैनिक रुपमा ८ टन फोहर प्लास्टिकबाट पेट्रोल तथा सडक बनाउने अलकत्रा र पोलिथिन पाइप उत्पादन गर्ने उद्योगको निर्माण अन्तिम चरणमा रहेको बताउनुभयो ।

उहाँले साना तथा घरेलु उद्यमीहरूलाई विना धितोमा १५ लाख सहुलियत ऋण बैंकले दिने प्रावधान रहेकाले त्यसको प्रयोग गरी उद्यमी बन्न आग्रह गर्नुभयो ।

धनुषा जिल्लामा हालसम्ममा २१ हजार ९ सय ९८ उद्योग दर्ता हुनुका साथै वाणिज्यतर्फ १७ हजार ८ सय ९६ संस्था दर्ता भएको जानकारी कार्यक्रममा दिइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button