तपाईँ सुन्दै हुनुहुन्छः

जाडोयाममा तराईको लोकप्रिय परिकार भक्काको बिक्री बढ्यो 

मोरङ । जाडो महिना लागेसँगै तराईको लोकप्रिय परिकार भक्का बनाएर चोकहरूमा बिहान बेलुकी बेच्न सुरु भइसकेको छ । विराटनगरको मुख्य बजारदेखि आसपासका चोकहरूमा भक्का बेच्ने र भक्काको पारखीहरूको हरेक दिन जमघट हुन थालिसकेको छ । बिहानीको चिसो मौसममा तातो तातो भक्कालाई नास्ताको रुपमा पनि खाने गरिन्छ । हिउँद महिना लागेसँगै चोकहरूमा वरिपरि बसेर भक्का खानेको भिड बिस्तारै बढ्दै गएको पाइन्छ । 

चामलको पिठोबाट बनाइने भक्कालाई सुपाच्य भोजनको रुपमा लिइन्छ । माटो वा अरू कुनै भाँडोमा पानी तताएर त्यसको बाफलाई स–साना प्वाल भएको माटोको प्लेटबाट बाहिर निकालेर त्यसमा चामलको पिठो राखिन्छ र सुतीको कपडाले छोपिन्छ । सोही पानीको बाफले चामलको पिठो पाकेपछि भक्का तयार हुन्छ । भक्कालाई चिया, धनियाँ र गोलभेँडाको अचार (चटनी), आलुचप, नुन–खोर्सानी आदिसँग खाने चलन छ ।

भक्का राजवंशी समुदायको सांस्कृतिक खाना पनि हो । राजवंशीहरूले प्रत्येक वर्ष मोरङ, सुनसरी र झापामा यसलाई भक्का दिवसको रुपमा पनि मनाउँदै आइरहेका छन् । राजवंशी समुदायको कला संस्कृति झल्काउने गरी उनीहरू संस्कृतिक पहिरनमा भेला भएर भक्का पकाउने, नाचगान गर्ने आदि माध्यमबाट दिवस मनाउने गरेका छन् ।

भक्का कुनै समुदायको पहिचान झल्काउने खाना मात्र नभएर धेरैका लागि आम्दानीको स्रोत पनि बनेको छ । भक्का बेचेर हुने आम्दानीले यस क्षेत्रमा सयौँले सिजनल खर्च जुटाउने गरेका छन् । हिउँद महिनाभर भक्का बेचेर घरको गर्जो टार्नेहरू यस क्षेत्रमा प्रशस्त छन् । 

विराटनगर १९ की सोनी मण्डलले बिहान बेलुकी भक्का बेचेर ७ सय देखि ८ सम्म रुपैयाँ कमाउने गरेको बताउनुभयो । विराटनगरको पुष्पलाल चौक लगायत विभिन्न हाटबजारमा एक वर्षदेखि भक्का बेच्ने गरेको उहाँले बताउनुभयो । 

विराटनगरको विभिन्न ठाउँमा भक्का १० रुपैयाँदेखि १५ रुपैयाँसम्म प्रति गोटा बिक्री हुने गरेको मण्डलको भनाई छ । त्यसबाट राम्रो कमाइ हुने र घर खर्च जुटाउन सहयोग पुगिरहेको उहाँले जानकारी दिनुभयो । 

भक्कामोह भएका विराटनगर–७ का प्रेम बुढाथोकीले विराटनगर बजारमा पनि सहजै चाहेको बेलामा खान पाएको बताउनुभयो । जाडोयाममा भक्का खानुले स्वस्थ्यकर हुने उहाँको बुझाई छ ।

तराईका आदिवासी समुदायहरू मुडियारी, राजवंशी, थारु र उराँव लगायतकाले भक्का परिकार बनाउने गरेको समेत पाइन्छ । भक्का परिकारलाई सरकारले संरक्षण गर्दै बजारीकरण गरी आयआर्जनसँग जोडन आवश्यक पहल गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button