तपाईँ सुन्दै हुनुहुन्छः

दोलखामा अलैँचीको उत्पादन घट्यो, मूल्य बढ्यो

file photo

दोलखा । उत्पादनमा ह्रास आएपनि दोलखाका किसानहरुले यो वर्ष अलैँचीको उच्च मूल्य पाएका छन् ।

लामो समय अलैँचीको मूल्य नपाएका किसानले यो पटक प्रतिकिलो ९ सयदेखि १३ सय रुपैयाँसम्म मूल्य पाएका हुन् । किसानले पाएको यो मूल्य विगत ५ वर्ष यताकै उच्च हो । दोलखाको वैतेश्वर गाउँपालिकाको मिर्गे, काब्रे र गैरीमुदी, मेलुङ गाउँपालिका–१ पवटी, कालिञ्चोक गाउँपालिका–२ बाबरेको सिस्नेरी, बसेरी, धारापानी, निकोभुमे, कालिञ्चोक– ७ र ८ सुनखानी, भीमेश्वर नगरपालिका–१ सुष्पाक्षमावती, सेरावेशीमा अन्य क्षेत्रको तुलनामा बढी अलैँची उत्पादन भएको थियो । 

दोलखाका अलैँची किसानले यो वर्ष २५ हजार किलो भन्दा बढी अलैँची उत्पादन गरेको अनुमान छ । अलैँची बिक्रीबाट साँढे दुई करोड भन्दा बढी रकम जिल्ला भित्रिएको किसानहरुले बताएका छन् । यो वर्ष वैतेश्वर गाउँपालिकाको मिर्गे, काब्रे र गैरीमुदीबाट १५ हजार किलो बढी अलैँची उत्पादन भएको छ । वैतेश्वरका किसानले उत्पादन गरेको अलैँची प्रतिकिलो १ हजारदेखि १३ सय रुपैयाँसम्ममा बिक्री गरेका छन् । यस्तै, मेलुङ १ पवटीका अलैँची किसानले पनि यो वर्ष राम्रै भाउ पाएका छन् । पवटीको नेपाल एग्रो टुरिजम प्रालिले मात्रै ४ सय किलो अलैँची बिक्री गरेको स्थानीय कृषक शान्त बहादुर कार्कीले जानकारी दिनुभयो । 

कालिञ्चोक गाउँपालिकाको बाबरे, सिस्नेरी, बसेरी, धारापानी र निकोभुमेका किसानले यो वर्ष एक हजार किलो भन्दा बढी अलैँची उत्पादन गरी बिक्री गरेका छन् । यो क्षेत्रका किसानले भने प्रतिकिलो ९ सय रुपैयाँमा अलैँची बिक्री गरेको बताउनुभएको छ ।  कालिञ्चोक गाउँपालिका–२ बाबरेका वडाअध्यक्ष हेमबहादुर पाण्डेले यो वर्ष किसानले करिब ६ सय किलो बढी अलैँची उत्पादन गरी बिक्री गरेको जानकारी दिनुभयो । दोलखाको भीमेश्वर नगरपालिका–१ सुष्पाक्षमावती स्थित सुस्पा फेदी, दामाराङ, टारी र बुमाका किसानले यो वर्ष ३ सय किलो बढी अलैँची उत्पादन गरेका छन् । भीमेश्वर नगरपालिकाको सेरावेँशीका किसानले पनि करिब ९ सय किलो अलैँची बिक्री गरेका छन् । यसैगरी कालिञ्चोक गाउँपालिकाको सुनखानीबाट यो वर्ष ७ सय किलो बढी अलैँची उत्पादन भएको छ ।

 दोलखाका किसानले यो वर्ष अलैँचीको राम्रो मूल्य पाए पनि उत्पादन घटेको देखिएको छ । किसानले लगाएको अलैँची बगानमा बोट सुक्ने, गानो र जरा कुहिने, फल नलाग्ने, लागेको फल नपाक्ने, पात तथा डाँठमा किरा लाग्ने र बोट मर्ने समस्याले किसानलाई हैरान पारेको छ । जसका कारण दोलखामा वर्षेनी अलैँची उत्पादन घट्दै गएको छ । व्यापारीहरूले दोलखाका किसानले उत्पादन गरेको अलैँची झापाको विर्तामोड र काठमाडौँमा लगेर बिक्री गर्ने गरेका छन् । झापाको बिर्तामोडमा प्रतिकिलो १३ सयदेखि १४ सय ५० रुपैयाँसम्म र काठमाडौँमा प्रतिकिलो १३ सय ५० रुपैयाँसम्ममा अलैँची बिक्री गर्ने गरेको अलैँची विक्रेताहरूले बताएका छन् । 

अलैँची सङ्कलन गरि बिक्री गर्दै आएका वैतेश्वर गाउँपालिकाका सुकमान तमाङले जिल्लामा उत्पादन भएको अलैँची भारत र बङ्गलादेशसम्म पुग्ने गरेको बताउनुभयो । यो वर्ष अलैँचीको धेरै माग भएकाले मूल्य पनि उच्च भएको हो । गत वर्ष दोलखाका किसानले प्रतिकिलो अलैँचीको मूल्य ४ सयदेखि ५ सयसम्म मात्रै पाएका थिए । नेपालमा उत्पादन हुने मसला बालीमध्ये सबैभन्दा बढी मूल्य पर्ने र धेरै निर्यात हुने कृषि बालीको सुचीमा अलैँची पर्दछ । अलैँची नेपालबाट निर्यात मात्र हुने तर आयात नगरिने एक मात्र कृषि वस्तु हो । अलैँची व्यवसायी महासङ्घका पूर्व केन्द्रीय सदस्य अमर तमाङले उत्पादन घटेको र माग बढ्दै गएपछि किसानले अलैँचीको मूल्य पाउन थालेको बताउनुभयो । 

कृषि ज्ञान केन्द्र रामेछापले भने जिल्लामा उत्पादन भएको अलैँची बिक्रीका लागि किसानलाई कुनै सहजीकरण गरेको छैन । कृषि ज्ञान केन्द्र रामेछापका प्रमुख मिन बहादुर पुनले अलैँचीको बजारीकरणका लागि कुनै व्यवस्था नगरिएको बताउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button