तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्ज नाकाबाट बढेन ब्यापार : १९ देशबाट आयात, ३ देशमा निर्यात

बाँके । पश्चिम नेपालको प्रमुख भन्सार नाका नेपालगन्जबाट हुने वैदेशिक व्यापार बढ्न सकेको छैन । यहाँबाट भारतसहित तेस्रो मुलुकमा निर्यात वृद्धि गर्ने प्रशस्त सम्भावनाको अध्ययन कतैबाट हुन सकेको छैन । चालु आर्थिक वर्ष २०८०र८१ को साउनदेखि असोज मसान्तसम्म नेपालगन्ज भन्सार नाका हुँदै २१ देशसँग १७ अर्ब ९३ करोड १३ लाख ८३ हजार रुपैयाँको वैदेशिक व्यापार भएको छ ।

उक्त अवधिमा १७ अर्ब ४८ करोड ९५ लाख ८७ हजार रुपैयाँबराबरका विभिन्न सामग्री आयात भएको छन् भने ४४ करोड १७ लाख ९६ हजारको मात्रै निर्यात भएको छ । यहाँबाट हुने वैदेशिक व्यापारको अधिकांश हिस्सा भारतले ओगटेको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख ध्रुव विकले जानकारी दिनुभयो ।

पछिल्लो तीन महिनामा भारतबाट मात्रै १५ अर्ब २९ करोड ७८ लाख ८४ हजार रुपैयाँ बराबरको सामग्री आयात भएको छ जुन कुल आयातको ९३।१९ प्रतिशत हो । त्यस्तै, नेपालगन्ज नाका हुँदै ४३ करोड ६५ लाख ८८ हजार अर्थात् कुल निर्यातको ९८।८२ प्रतिशत हिस्सा भारतले नै ओगटेको छ ।

दोस्रो धेरै निर्यात हुने देशको सूचीमा रहेको युनाइटेड अरब इमिरेट्समा ०।७६ प्रतिशत र म्यानमारमा ०।४१ प्रतिशत सामग्री निर्यात भएको छ । नेपालगन्ज भन्सार कार्यालयका प्रमुख विकका अनुसार यो नाका हुँदै भारत, बेलायत, मलेसिया, म्यानमार, चाइना, भियतनाम, बेल्जियम, इटली, दक्षिण अफ्रिका, टर्की, थाइल्यान्ड, ताइवान, दुबई, साउदी अरेबिया, सिंगापुरसहित २१ देशबाट सामान आयात भएको छ ।

यीमध्ये भारत, युनाइटेड अरब इमिरेट्स र म्यानमारसँग मात्रै निर्यात व्यापार हुने गरेको भन्सार तथ्याङ्कले देखाउँछ । नेपालगन्ज नाका हुँदै भारतलगायतका देशबाट इन्धन, खाद्यान्न, मेसिनरीसहित ५० प्रकारका सामग्री आयात हुने गरेको छ भने यहाँबाट जडीबुटी, प्लाइउडसहित १७ प्रकारका सामग्री निर्यात हुँदै आएको भन्सार कार्यालयले जानकारी दिएको छ । 

भारतबाहेक तेस्रो मुलुक म्यानमार, युनाइटेड अरब इमिरेट्समा समेत जडीबुटी नै निकासी हुने गरेको पाइएको छ । केएल दुगड जस्ता खाद्य उत्पादकहरूले विगतमा अस्ट्रेलिया पिठो निर्यात गर्ने गरे पनि त्यो नियमित हुन सकेको छैन । बङ्गलादेशमा चामल निर्यात हुने गरेको व्यवसायीहरू बताउँछन् ।

‘अहिले निर्यात व्यापारको अधिकांश हिस्सा जडिबुटीले नै ओगटेको छ । यसको सहज निर्यातका लागि पनि सरकारका तर्फबाट अपेक्षाकृत सहयोग पाइएको छैन,’ नेपाल जडीबुटी व्यवसायी संघका अध्यक्ष टंक शर्मा भन्छन्, ‘नेपालगन्ज नाका हुँदै निर्यातको माहौल बनाउन लाग्नुपर्छ ।’ अध्यक्ष शर्माको भनाइमा भन्सारको पूर्वाधारको स्तरोन्नतिले पनि वैदेशिक व्यापारमा अर्थ राख्छ ।

‘नेपालगन्ज भन्सारसँग सटेको रुपैडियास्थित भारतीय कस्टम कुन तह र सुविधाको छ भन्ने कुराले पनि हाम्रो निर्यात व्यापारमा प्रभाव पार्छ । अझ भारतको समुद्री बन्दरगाहको पहुँचको त विशेष अर्थ हुने नै भयो । हामीलाई त्यसको अभाव खट्किएको छ,’ अध्यक्ष शर्माले भन्नुभयो । भारतीय समुद्री बन्दरगाहनजिक पर्ने भएका कारण पूर्वका भैरहवा, वीरगन्ज, विराटनगर भन्सारबाट ठूलो परिमाणमा निर्यात व्यापार हुने गरेको छ । जसका कारण त्यहाँ भारतीय कस्टमसमेत थप सुविधासहितको र प्रभावकारी रहेको व्यवसायीहरू बताउँछन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष चिरञ्जीवी ओलीले पछिल्लो पटक नेपालगन्ज नाकाबाटै प्लाइउड ठूलो मात्रामा निर्यात भएको बताउँदै उनले निर्यात हुने सामग्रीको पहिचान गरी त्यसको उत्पादनमा समेत लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button