तपाईँ सुन्दै हुनुहुन्छः

ताराखोलामा भुस पोल्ने पर्व धूमधामसँग मनाइँदै

बागलुङ । बागलुङको ताराखोलाका रैथाने मगरले यस वर्षको ‘भुस पोल्ने पर्व’ धूमधामसँग मनाउँदै छन् ।

प्रकृतिपूजक अर्गली मगरले बर्सेनि कात्तिकमा यो पर्व धूमधामसँग मनाउँछन् । २४ गतेदेखि सुरु भएको पर्वलाई गाउँलेले आइतबार बिदाइ गर्दैैछन् । पूर्वजले खोरिया खनेर हिउँदे खेती लगाउन सुरु गरेको सम्झनामा मगरहरूले सो पर्व मनाउँदै आएको स्थानीय अर्गल माविका शिक्षक सूर्यबहादुर घर्तिमगरले बताउनुभयो ।  

“मुख्यगरी ताराखोला गाउँपालिका–२ अर्गलमा भुस पोल्ने पर्व प्रचलित छ,” उहाँले भन्नुभयो “गाउँलेले ठूलो चाडका रुपमा सो पर्वलाई लिन्छन् ।” ताराखोला गाउँपालिकाका कार्यपालिका सदस्य फुलमाया पुनका अनुसार हरेक वर्ष कात्तिक २४ गतेदेखि नै पर्व मनाउन सुरु हुन्छ । सो दिन शङ्खुबारी (मूल बारी) मा भुस पोल्ने गरिन्छ । 

“मकैबाली भित्रिएपछि बारीमा रहेका डाँठ, पात, पतिङ्गर जम्मा पारेर आगो लगाउने कार्यलाई नै भुस पोल्ने भनिन्छ,” उहाँले भन्नुभयो “पहिले पहिले अर्गलमा भुस पोलेपछि मात्र छिमेकी गाउँमा खेती सुरु गर्ने चलन रहेको छ ।” 

शङ्खुघर (गाउँको मूल घर) का मूल भाञ्जाले भुस पोल्ने चलन छ । उक्त दिनमा शङ्खुबारीमा विशेष पूजाआजा हुन्छ । त्यहाँ उब्जेको जौ बाली शुङ्खुघरले प्रयोग गर्ने र त्यही घरले पूजाआजाको खर्च चलाउनुपर्ने नियम छ । गाउँको ज्येष्ठ व्यक्तिको घरलाई नै शङ्खुघर नामाकरण गर्ने गरिन्छ । 

पर्वको अर्को दिन २ गते ६ बिहान वर्ष दिनभित्र मृत्यु भएकाका परिवारमा मृत्यु संस्कारका रुपमा बरखी (दुःख) उम्काइएको छ । २४ गतेअघि जहिले मृत्यु भएको भए पनि २५ गते नै मृत्यु संस्कार पूरा हुने गर्छ । २४ गते मृत्यु भएमा भने वर्षभरि नै दुःख बार्नुपर्ने हुन्छ । घरमा चेलीबेटी, भाञ्जाभाञ्जीलाई बोलाई दानदक्षिणा दिई मृत्यु संस्कार पूरा गर्ने गरिन्छ । मृत्यु संस्कारको समापनलाई गाउँलेले ‘होलादास’ पनि भन्ने गर्छन् । मृतकको घरमा दिदी बहिनीमध्ये जेठीले १८ माना चामल र सोही बराबरको सुकुटी र सुकेको छाला ल्याउनुपर्ने प्रचलन छ ।

मृतकको परिवारबाट पनि सोही अनुसार मावली र माइतीघरमा पठाउने गर्छन् । त्यसरी पठाएको कोसेली दाजुभाइ मिलेर बाँड्ने र त्यसबापत नगद दक्षिणा गर्ने चलन छ । “यो पर्वका धेरै आयाम छन्, पितृ कार्यदेखि पुत्र बढाइँसम्मका परम्परा यसमा जोडिएका छन्”, शिक्षक घर्तिमगरले बताउनुभयो ।

पर्वको मुख्य दिन २६ गते छापे खन्ने गरिन्छ । शङ्खुबारीको बीचमा रहेको ठूलो ढुङ्गालाई सहकालका देउता मानेर पुज्ने चलन छ । त्यहाँ पूजाआजा गरे सहकाल भित्रने र खेतीबाली सप्रने जनविश्वास छ । प्रकृतिका देउता ‘शङ्खु’ को प्रतीकस्वरुप मूलघर र बारीलाई समेत शङ्खु भनेर चिनिन्छ । 

सो दिन शङ्खुबारीमा बाली छर्नुपूर्व अविवाहित युवायुवती जम्मा भएर बारीमा मेलो खन्ने गर्छन् । पूजाको विधिपछि युवा कोदालो लिएर शङ्खुबारीमा दौडन्छन् र युवतीलाई डाक्छन् । युवती पनि कोदालोसहित शङ्खुबारी आउँछन् । पाका र विवाहितले अघिअघि बीउ छर्छन्, अविवाहित युवायुवती मिलेर शङ्खुबारीमा मेलो खन्न सुरु गर्छन् ।

मेलो सकिएपछि युवायुवती एकापसमा कोदालो जुधाउँछन् र तानातान गर्छन् । अन्तिममा सँगै कोदालो उठाउँदै खुसी साट्छन् र खेती लगाएको सन्देश दिन्छन् । यसलाई नै ‘छापे खन्ने’ भन्ने गरिएको स्थानीय बताउँछन् । विवाहित युवायुवतीले छापे खन्न नहुने मान्यता छ । त्यसको भोलिपल्ट २७ गतेदेखि यो वर्ष पहिलो छोरा जन्मिएका घरमा पुत्र बढाइँ सुरु हुन्छ । 

पुत्र बढाइँमा गोपिचन नाच देखाउने, गाथा हाल्ने पुरानो चलन छ । “यो वर्ष जसजस्को घरमा पहिलो छोरा जन्मेका छन्, त्यहाँ गोपिचन राजाको जीवन कहानीमा आधारित कथा भन्ने, झाँकी देखाउने चलन छ”, संस्कृतिकर्मी समेत रहनुभएका शिक्षक घर्तीमगरले भन्नुभयो, “पुत्र बढाइँ गरेपछि विवाहपूर्व गरिने सबै संस्कार पूरा हुने मानिन्छ ।” 

पुत्र बढाइँलाई परिवारका सदस्य र आफन्तले उत्सवका रुपमा मनाउने गर्छन् । पन्ध्रौँ शताब्दीतिर पाल्पाको अर्गलीबाट बसाइँसराइ गरी अर्गल आएका मगरहरूले सो पर्वको चलन बसालेका हुन् । अर्गल खेलकुद विकास मञ्चले भुस पोल्ने पर्वका अवसरमा विभिन्न खेलकुद र मनोरञ्जनात्मक कार्यक्रमसमेत आयोजना गरेको छ ।

यस वर्ष पनि पुरुष तथा महिला भलिबल, सामूहिक लोकनृत्य, धनुषबाण, गुरिल्ला दौड प्रतियोगिता राखिएको मञ्चले जनाएको छ । भुस पोल्ने पर्वको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली, ताराखोलासँग मितेरी सम्बन्ध गाँसेको गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल लगायत जनप्रतिनिधिहरू अर्गल आउनुभएको थियो ।

मन्त्री जुग्जाली र गाउँपालिकाका अध्यक्ष पोखरेल जनयुद्धका सहिद अमरको घरमा आइतबार भएको बरखी फाल्ने कार्यमा सहभागी हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button