तपाईँ सुन्दै हुनुहुन्छः

इटहरी र धरानबिच फोहोर विवाद

सुनसरी । इटहरी उपमहानगरपालिका  र धरान उपमहानगरपालिकाबिच फोहोरमा विवाद देखिएको छ । धरान उपमहानगरपालिकाले जङ्गल क्षेत्रमा डढाउँदै गरेको फोहोरका कारण इटहरीवासीलाई असर पुगेको भन्दै इटहरी उपमहानगरपालिकाले वारुणयन्त्र लगाएर जलाउँदै गरेको फोहोरको आगो निभाई दिएको छ । 

मानव स्वास्थ्यलाई असर पर्ने गरी फोहोर डढाउँदा निस्केको धुवा र प्रदूषणले उपमहानगरपालिकाको वडा नम्बर १९ र २० बासिन्दालाई असर पुर्याएको भन्दै गुनासो आएपछि इटहरी उपमहानगरपालिकाले नगर प्रहरी सहित वारुण यन्त्र पठाएर जलाई रहेको फोहोरको आगो निभाई दिएको हो ।

इटहरीका स्थानीयले जङ्गल क्षेत्रमा धरानले फोहोर ल्याएर डढाउँदा आफूहरूलाई असर परिरहेको गुनासो गर्दै धरान उपमहानगरपालिकालाई त्यसो नगरिदिन आग्रह गरेका छन् । इटहरीका एक युवाले श्रम संस्कृतिमा जोड दिँदै आएका धरानका नगरप्रमुख हर्क साम्पाङलाई जङ्गल क्षेत्रमा फोहोर जलाएर प्रदूषण नफैलाउन भन्दा वातावरण स्वच्छ बनाउन श्रमदान अभियान सञ्चालन गरिदिन आग्रह गरेका छन् ।

धरान उपमहानगरपालिकाले फोहोर ल्याएर जङ्गल क्षेत्रमा जलाउँदा धुँवा धुलोले मानव स्वास्थ्यलाई नै असर गरिरहेको भन्दै वडा नम्बर १९ र २०का जनताहरूबाट गुनासो आएपछि बाध्य भएर फोहोर जलाएको ठाउँमा नगर प्रहरी सहित वारुण यन्त्र पठाएर आगो नियन्त्रणमा लिनु परेको इटहरीका नगरप्रमुख हेमकर्ण पौडेल बताउँछन् । 

नगरप्रमुख पौडेलले मानव स्वास्थ्यलाई असर पार्ने फोहोर जङ्गल क्षेत्रमा नडढाएर स्थायी व्यवस्थापन उपाय खोज्न पर्नेमा जोड दिँदै इटहरीका जनतालाई असर पर्ने गरी फोहोर जङ्गलमा ल्याएर जलाउने कार्य नगर्न पत्राचार समेत धरान उपमहानगरपालिकालाई पत्राचार गरिने जानकारी दिनुभयो ।

धरान र इटहरी उपमहानगरपालिका बीच सिमाना विवाद समेत वेला वेलामा चर्चामा आउने गरेको छ । सीमा विवादका साथै अन्य विषयहरूमा समेत छलफल र वार्ताबाट समस्या समाधान खोज्नु पर्नेमा इटहरीले जोड दिँदै आएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button