तपाईँ सुन्दै हुनुहुन्छः

अध्यक्ष तिमिल्सिना र बेल्जियमकी सभामुखबीच भेटवार्ता 

लुवाण्डा, एङ्गोला I राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेल्जियमको सिनेटका सभामुख स्टेफिन डि होसका बिच भेटवार्ता भएको छ । 

अन्तर व्यवस्थापिका सङ्घ(आइपियु)को १४७ औँ महासभाका क्रममा एङ्गोलाको राजधानी लुवाण्डामा बिहीबार भेटवार्ता भएको हो ।  

भेटवार्ताका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र बेल्जियम बिचको आपसी सम्बन्ध सद्भाव, विश्वास र पारस्परिक सम्मानले चिनिएको बताउँदै दुवै मुलुकले अन्तर्राष्ट्रिय मञ्चहरूमा साझा धारणा राख्दै आएको स्मरण गर्नुभयो । उहाँले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा एक अर्का देशलाई समर्थन गर्दै आएको कुरामा जोड दिँदै बेल्जियमले नेपालको विकास प्रयासमा विभिन्न दातृ निकाय मार्फत पुर्‍याएको योगदानका लागि धन्यवाद दिनुभयो । 

नेपाल र बेल्जियम बिचको सम्बन्ध प्रगाढ बनाउन दुई देशका संसदहरुको महत्त्वपूर्ण भूमिका रहेको  बताउनुभयो । “नेपाल र बेल्जियम बिचको सम्बन्ध प्रगाढ बढाउन दुई देशका संसदहरुको महत्त्वपूर्ण भूमिका रहेको छ”,  अध्यक्ष तिमिल्सिनाले भन्नुभयो“संसदीय अनुभवको आपसी आदानप्रदान मार्फत संसदीय लोकतन्त्रलाई परिष्कृत गर्दै आफ्ना नागरिकहरूको हक अधिकार सुनिश्चित गर्ने प्रक्रियालाई सबल बनाउने अवसर हाम्रो सामु रहेको छ।”

उहाँले नेपालमा हिमाल आरोहण र पदयात्रा पर्यटनमा बेल्जियमका नागरिकका बिचमा लोकप्रिय भएकाले उल्लेख्य सङ्ख्यामा पर्यटकहरूलाई नेपाल आउने वातावरण बनाउन सक्दा त्यसबाट नेपालको आर्थिक र सामाजिक क्षेत्रमा ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

भेटवार्ताका क्रममा बेल्जियमकी सभामुख स्टेफिन डि होर्सले नेपाल र बेल्जियमका बिचमा धेरै समानताहरू रहेको बताउँदै जलवायु परिवर्तनको असर कम गर्न र मानवअधिकारको प्रवर्द्धन गर्न सहकार्य गर्न सकिने कुरामा जोड दिनुभयो । कोभिडका समयमा नेपालमा सहयोग गरेको स्मरण गर्दै जलवायु परिवर्तनबाट हुने प्राकृतिक विपत्तिका  घटना कम गर्न आगामी दिनमा सहयोग गर्दै जाने प्रतिबद्धता पनि जनाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button