तपाईँ सुन्दै हुनुहुन्छः

‘महाजात्रा’ मा नयाँ कलाकार

काठमाडौँ I नेपाली चलचित्र ‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलतापछि षट्कोण आर्ट्सको निर्माणमा बन्न लागेको तेस्रो शृङ्खला ‘महाजात्रा’ मा नयाँ कलाकार जोडिएका छन् ।

नयाँ शृङ्खला हरिवंश आचार्य जोडिनुभएको खबर केही समय अगाडि नै सार्वजनिक भइसकेको छ भने दिव्यदेव पन्त, गौमाया गुरुङ र शिशिर बाङ्देल जोडिनुभएको छ । 

कात्तिक १५ गतेदेखि छायाङ्कनको तयारी गरिएकाले महाजात्राको सम्पूर्ण तयारी पूरा भएको कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले कलाकारको आवरण परीक्षण (लुक टेस्ट) गरिसकेका छौँ । शृङ्खलाप्रति बढ्दो दर्शकको विश्वासले गर्दा पनि स–सानो भूमिकामा समेत उहाँहरूको प्रिय कलाकारलाई लिएका हौँ ।”

चलचित्रमा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको छ । उहाँले निर्देशन गर्नुभएका सम्पूर्ण चलचित्र बक्स अफिसमा व्यावसायिक रूपमा सफल हुनुका साथै दर्शक तथा समीक्षकलेसमेत रुचाएका छन् । “हामीले समाजकै कथालाई हाँसो र रोदनको मिश्रण गरेर पर्दामा ल्याउने गरेका छौँ । यसैले पनि दर्शकको प्रिय बनिरहेका छौँ । उहाँहरूको विश्वास अझैँ बढाउनु हाम्रो दायित्व हो”, निर्देशक भट्टराईले भन्नुभयो । 

म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गर्नुहुने चलचित्रमा कसरी हास्यव्यङ्ग्य (कमेडी) यथार्थपरक र परिस्थितिजन्य हुन्छ भन्ने पुष्टि गरेको थियो । स्थापित शृङ्खला र दर्शकको विश्वासिलो समूहसँग सहकार्य गर्न पाउँदा आफू उत्साहित रहेको अभिनेत्री गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “एउटा कलाकारको रूपमा उहाँहरूसँग काम गर्ने इच्छा पूरा हुँदैछ । दर्शक समक्ष नयाँ भूमिकामा प्रस्तुत हुने कुराले उत्साहित छु । यस्ता समूहसँग काम गर्न पाउँदा आफूलाई निखार्ने अवसर पाइन्छ ।”

यसमा विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, वर्षा राउत, रवीन्द्र झा, अरविन्द खड्का, राजाराम पौडेललगायत कलाकारले अभिनय गर्नुहुनेछ । ‘जात्रा’ चलचित्रको लोकप्रियताले छायाङ्कन नहुँदै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ । चलचित्र आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button