तपाईँ सुन्दै हुनुहुन्छः

शास्त्रीय छन्दको पुनर्जागरणमा नयाँ पुस्ताको बढ्दो रुची

परम्परागत रुपमा लेखिदै आएको शास्त्रीय छन्दका कविता लेखन र वाचनमा पछिल्लो युवा पुस्ताले विशेष चासो दिन थालेका छन् ।

कुनै समयमा हराएको अवस्थामा रहेको छन्द कविता लेखनमा जटिलता भए पनि वाचनमा हुने श्रुतीमाधुर्यताका कारण लेखनमा पुनर्जागरण आउन थालेको हो ।
शास्त्रीय छन्दको परम्परा र प्रयोगको अभिरुचीले व्यापकता पाउँदै गएपछि पछिल्लो पुस्ताले छन्दमा कविता लेखन र वाचनमा विशेष रुचि राख्न थालेका छन् । त्यसो त नयाँ पुस्तालाई शास्त्रीय छन्दप्रति
रुची जगाउन एउटा पुस्ताले ठूलै संघर्ष गर्नुपरेको इतिहास छ ।
छन्दप्रतिको गलत बुझाइका कारण तीन दशक अगाडि सुरु गरिएको छन्द बचाउ अभियानकै कारण शास्त्रीय छन्दमा लेखन तथा वाचन प्राथमिक विद्यालयदेखि विश्वविद्यालय हुँदै विश्वभर छरिएर रहेका नेपाली भाषीमाझ लोकप्रिय हुँदै गएको छ ।
शास्त्रीय छन्दको पुनर्जागरण अभियानका अभियान्ता प्राध्यापक डा. रामप्रसाद ज्ञवाली छन्दको पुनर्जागरण अभियानले छन्दमा लेखन विश्वभरी छरिएर रहेका नेपाली भाषाीसम्म पुगेको र छन्द लेख्नेहरु बढेको बताउनुहुन्छ ।
कवि सुवानन्द दासदेखि आजसम्म लेखिएका सम्पूर्ण कविता, गीत र गजलहरू वार्णिक, मात्रिक, लोक, मुक्त र बहर गरी जम्मा पाँच प्रकारका छन्दमा समेटिएका छन् । यसरी हेर्दा नेपाली छन्द कविताले २ सउ ४० वर्षको यात्रा पूरा गरेको छ ।
भानुभक्तको रचनाकालबाट छन्द कविताको विकास सुरु भएको मानिन्छ । कवि शिरोमणी लेखनाथ पौड्यालदेखि महाकवि देवकोटा, मोहन कोइरालाको आगमनको समयलाई छन्द कविताको विकास काल, उत्कर्षकाल, सक्रमणकाल भनियो भने त्यसपछिको समयलाई पुनर्जागरण काल मानिएको छ संस्कृति भाषाबाट सुरु भएको शास्त्रीय छन्द रचनाकाललाई हेर्दा हालसम्म नेपाली कवितामा झन्डै चार सय वार्णिक छन्दको प्रयोग भएको पाइन्छ । लयविधान, छन्दविधान,विम्बप्रतीक अलंकारणको प्रयोग र श्रुतिमार्धुयताका कारण पछिल्लो पुस्तामा शास्त्रीय छन्द लोकप्रिय हुँदै गएको छ ।
युवा पुस्ताका चर्चित छन्द कवि सुदेश सत्याल नेपाली मौलिकपन बोकेको छन्द कविता जोगाउन आफूले छन्दमा लेखिरहेको बताउनुहुन्छ ।
भनिन्छ, यो विश्व व्रम्हाण्ड नै लयमा छ । प्रकृति लयमा छ । मानव जीवन लयमा छ । छन्द भनेको ध्वनिहरुको समष्टि हो । सानो सानो अथवा सानो ठूलो ध्वनिहरुले जब एउटा व्यवस्थामा सामञ्जस्य प्राप्त गर्दछ, त्यस्तो अवस्थालाई शास्त्रीय नाम छन्द भनेर चिनिन्छ । मात्रा अथवा वर्णहरुको संख्या, विराम, गति, लय तथा तुक आदिको नियमयुक्त कुनै रचना हुन्छ भने त्यस्तोलाई छन्द कविता भनिएको हो ।
छन्दमा लेख्न नसकिने कुनै विषय छैन । समाज, प्रकृति, मानव जीवनदेखि हाम्रा वरिपरिका विकृति विसंगती र यथार्य चित्रलाई छन्द मालामा उनेर माधुर्यता थप्न सक्नु नै छन्द कविताको शक्ति हो ।
नेपाली छन्द कविताको विकासमा मोतिराम भट्टसँगै नेपाली भाषा प्रकाशिनी समिति, शारदा पत्रिका, साझा प्रकाशन र नेपाल प्रज्ञाप्रष्ठिानको विशेष योगदान रहेको छ भने पनर्जागरणका लागि नागार्जुन साहित्यिक प्रतिष्ठान, रातो बङ्गला स्कूल, छन्दतरङ्ग, छन्दसाधना समूहलगायत संस्थाहरुले विद्यालयदेखि देशविदेशमा समेत छन्द कविता लेखन गोष्ठी, कार्यशाला तथा तालिमहरु दिदै आएका छन् ।
लयमा वाचन हुने हुँदा छन्द कविताले दिने मीठास अझ बेग्लै छ । त्यसकारण पनि पछिल्लो समय स्कुले उमेरदेखिका युवा र पाका पुस्ता समेतमा छन्द लेखन र गायनमा विशेष रुची बढेको पाइन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button