तपाईँ सुन्दै हुनुहुन्छः

दशैंमा जलविरे झरनामा पर्यटकको चहलपहल बढ्यो 

चितवन । दशैं शुरु भएसँगै ईच्छाकामना गाउँपालिका–६ स्थित जलविरे (लामो) झरनामा आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको छ । 

बिशेषगरी काठमाडौँ तथा अन्य जिल्लाबाट दशैं मनाउन आफ्ना घर फर्किने पर्यटकहरूको भीड बढेको हो । 

केही बर्षअघिसम्म अधिकांशलाई यो झरनाको बारेमा खासै जानकारी थिएन् । तर पछिल्लो समय भने जिल्लाको उत्कृष्ट पर्यटकीय गन्तव्य मध्येमा यो झरना पर्दै आएको छ । 

दशैँ बिदाको सदुपयोग गर्न पनि टाढा टाढाबाट आएर मनोरम दृश्यमा पर्यटकहरू रमाइरहेका भेटिन्छन् । 

काठमाडौँ देखि दशैँमा घुम्न निस्केकी चन्द्रकला जोशी शुक्रबार आफ्नो परिवारसँग लामो झरनामा टहलिरहनु भएको थियो । ‘म पहिलो पटक आएकी हुँ । यति राम्रो लामो झरना रैछ । मन नै आनन्द आउने,’ उहाँले भन्नुभयो , ‘यहाँ आउँदा बित्तिकै आनन्द महसुस हुने रैछ ।’

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत जलविरेदेखि एक किलोमिटर माथि रहेको झरनामा लामा तथा छोटो दुरीमा सवारीसाधन रिजर्भ गरेर पनि पुग्छन् भने, कतिपय नीजि सवारी साधनमा परिवार र साथीहरुसंँग रमाइलो गर्न पुग्दछन् । 

यहाँ पुग्ने  जो कोही पर्यटकले शीतलताको छुट्टै आनन्द महसुस गरेको पाइन्छ । जलविरे मन्दिरबाट करिब २० मिनेटमा हिँडेर पुग्न सकिने यहाँ लामो छाँगाबाट झरेको पानीका फोहरा र त्यसबाट आउने शीतलता, पानीका र चिसो हावाको स्पर्शले पर्यटकलाई लोभ्याउने गरेको छ । 

दशैँको छुट्टी पारेर घुम्न निस्केका नवलपुरका राजेश चौधरी लामो झरनामा आएपछि मन नै आनन्दित भएको बताउनुहुन्छ । ‘नारायणगढ–मुग्लिन सडकखण्ड भएर धेरै पटक हिँडियो । यस ठाउँको बारेमा थाहा थियो । तर यहाँ पहिलोपटक आएको हुँ,’  चौधरीले भन्नुभयो , ‘म परिवार सहित दशैँ मनाउन आएको हो ।’

यो झरना नारायणगढबाट मुग्लिनतर्फ २७ र मुग्लिनबाट नारायणगढतर्फ सात किलोमिटरको दूरीमा पर्छ । मुख्य राजमार्गबाट निजकै पर्ने हुनाले यस राजमार्गमा यात्रा गर्नेहरू उक्लेर प्राकृतिक दृश्यमा रमाइरहेका हुन्छन् । काठमाडौँबाट दशैं मनाउन बुटवल हिँडेका सुदिप पोख्रेलले पनि यहाँको मनोरम दृश्यले आफूलाई लोभ्याएको बताउनु हुन्छ  । काठमाडौँ देखि दशैँमा घर बुटवल हिँडेका थियौँ । यस राजमार्ग यात्रा गर्दा झरनामा आएर खेलेर र फोटो खिचेर रमाउंँ भनेर नि !’उहाँले भन्नुभयो । 

यहाँ थप पूर्वाधार निर्माणपछि पर्यटकको चहलपहल बढ्दै गएको छ । दशैँको समयमा दैनिक तीन सयभन्दा बढी पर्यटक घुम्न आउने गरेको जलविरे झरना पर्यटन विकास समितिका अध्यक्ष देवबहादुर गुरुङ बताउनुहुन्छ । ‘यहाँ सामान्य दिनमा पनि दैनिक डेढ सयको हाराहारीमा पर्यटक घुम्न आउनुहुन्छ । यो दशैँमा दैनिक तीन सयको हाराहारीमा आउनुभएको छ,’उहाँले भन्नुभयो ‘पिकनिक र घुम्न समेत आउनुहुन्छ ।’ गर्मी याम शुरु भएपछि यहाँ सबैभन्दा बढी पर्यटक आउने गर्दछन् । सो बेला एकै दिन एक हजार पाँच सयको हाराहारीमा टिकट बिक्री भएको गुरुङले जानकारी दिनुभयो ।

यहाँ प्रवेश गर्ने पर्यटकबाट प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क लिने गरिएको छ । स्थानीय र विद्यार्थीबाट २० रुपैयाँ प्रतिव्यक्ति लिने गरेको गाउँपालिकाले जनाएको छ।

लामो झरनाको विकासका लागि तीन तहका सरकारबाट पूर्वाधार निर्माणका काम भएका छन् । झरनासम्म सडक ढलान तथा कालोपत्र गरिएको छ । सिँढी, रेलिङ, गोलघर, प्रवेशद्वार, टिकट घर, धारा, शौचालयलगायत संरचना निर्माण गरिएका छन् । यहाँ आउने पर्यटकलाई बास बस्नको लागि झरना भन्दा माथिको याक्राङ गाउँमा होमस्टे समेत निर्माण गरिएको गुरुङले बताउनु भयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button