तपाईँ सुन्दै हुनुहुन्छः

कास्की दरबारमा फूलपाती सहितको डोली भित्राइयो

कास्की । कास्कीकोट दरबारमा रहेको गुप्तकालीका मन्दिरमा विश्व शान्तिको कामना गर्दै जारी नवदुर्गा महोत्सवमा सप्तमीको दिन आज विधिवत् रुपमा फुल पत्रको डोली प्रवेश गराइएको छ ।

पोखराको राम घाटबाट ल्याइएको फुलपत्र सहितको डोली मन्दिर प्रवेश गराइएको हो । फुलपत्र बढाइँ गर्दै कुँवर जातीले यहाँ परापूर्व कालदेखि सैन्य अभ्यास सरुन खेल प्रदर्शन गरेका थिए । गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिको आयोजनामा बडा दसैँको अवसरमा घटस्थापनादेखि नवमीसम्म महोत्सव सञ्चालन भएको हो ।

परापूर्व कालदेखि तान्त्रिक तथा वैदिक पूजा हुँदै आएको मन्दिरमा विश्वमा भइरहेको युद्ध तथा प्राकृतिक प्रकोपबाट मानवीय तथा भौतिक क्षति नहोस् भन्दै शान्तिको कामनार्थ घटस्थापनादेखि दशमीसम्म पुजारीहरू मन्दिरमा नै बसेर गुप्तकालीकाको पूजा गरेको धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष दिलीप विक्रम शाहीले बताए ।

घटस्थापनाको दिन असोज २८ गते विधिवत् रुपमा कोतमा प्रवेश गरी नवदुर्गाभर विशेष रुपमा चण्डी पाठ दुर्गा कबज भइरहेको धार्मिक क्षेत्र विकास समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीले बताए । त्रिपाठीका अनुसार कास्कीकोट गुप्तकालीका मन्दिरमा परापूर्व काल देखि पर्व विशेषमा विभिन्न गतिविधि सञ्चालन हुँदै आएका छन् । यस वर्षको बडा दसैँको १० दिन सम्म कोत घरमा पाणा पुजारी सहित विश्व शान्तिको कामना गर्दै विशेष पूजा गरिने भएको हो । बडा दसैँको फूलपातीमा पोखराको रामघाट वाट लगेको फुलको डोली विधिवत् मन्दिर प्रवेश गराएर नवपत्रिकाको तान्त्रिक पूजा गरिएको त्रिपाठीले बताए । अष्टमीको दिन मध्यरातमा कालरात्रिको पूजा र नवमीमा पञ्चवली दिने गरिन्छ । दशमीमा मन्दिरमा टिका ग्रहण गरी वास्पानी कालीकामा फुलपत्र सहित पूजा विर्सजन हुने छ ।

आज सप्तमीका दशैको बेलामा बजाइने नगरा, सत्रौँ शताब्दीका ढाल तरबारहरू लगायत तोपहरूको समेत प्रदर्शन गरिएको थियो ।

यहाँ पूजा र पञ्चबली भाकल गर्नेहरूको दैनिक भिड लाग्ने गर्छ । गुप्तकालीका मन्दिरमा कास्की राज्यको स्थापनासँगै यहाँ हरेक दसैँमा विशेष पूजा हुँदै आएको छ । यस ठाउँबाट नै कास्की जिल्लाको नामाकरण भएको मानिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button