तपाईँ सुन्दै हुनुहुन्छः

बरालको मौरीपालन : आफ्ना लागि आम्दानी, अरूका लागि प्रेरणा

गण्डकी I जीवनको साढे दुई दशक मौरीपालन व्यवसायमा खर्चिनुभएका पोखरा महानगरपालिका–३३ बागमारामा किसान श्रीभद्र बराल यतिखेर अरूका लागि प्रेरणाको स्रोत बन्नुभएको छ । 

लामो समयको मौरीपालन अनुभवले खारिनुभएका उहाँ मौरीपालनबाट राम्रो  आम्दानीसँगै अहिले विभिन्न ठाउँमा पुगेर तालिम  दिन थाल्नुभएको छ । साकुुरा एपियारी फार्मका सञ्चालक बराललाई यतिबेला पोखरा आसपासका क्षेत्रमा मौरीपालन तालिम दिन भ्याइनभ्याइ छ । तालिमका लागि ठाउँ ठाउँबाट माग हुने गरेको बताउँदै उहाँले आफूले यसबिचमा धेरै ठाउँमा तालिम दिएको अनुभव सुुनाउनुभयो । 

जिल्ला मौरिपालक महासङ्घका अध्यक्षसमेत रहनुभएका बरालको फर्ममा हाल एक सयभन्दा बढी मौरीका घार छन् । आफूले मौरीपालनबाट वार्षिक रु १० लाखसम्म आम्दानी गरेको उहाँको भनाइ छ ।

सुरुमा दुुईवटा घारबाट मौरीपालन सुरु गर्नुभएका उहाँले यसबिच विभिन्न तालिम लिएको र घार पनि थप्दै गएको बताउनुभयो । आफूले विगतमा लिएको तालिमबाट सिकेको ज्ञान, सीप तथा मौरीपालनको अनुभवका आधारमा यतिबेला आफू तालिम दिँदै आएको बताउनुभयो । उहाँलाई कास्की, स्याङ्जा, तनहुँलगायतका स्थानबाट तालिमका लागि निम्तो आउने गरेको छ । 

बरालका अनुसार फार्ममा उत्पादित महप्रति केजी रु एक हजार आठ सयसम्म बिक्री हुन्छ । यहाँ उत्पादित महका लागि बजारको कुनै समस्या नभएको उहाँको भनाइ छ । तर बाहिरबाट आयात हुने कम गुणस्तरको महका कारण बजारलाई प्रभावित बनाउने गरेको उहाँको अनुभव छ ।

मौरीपालनमा मौसमी व्यवस्थापनको ठूूलो महत्त्व हुने बताउँदै उहाँले वर्षा, जाडो र गर्मी मौसमअनुसार घारको व्यवस्थापनलाई ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । मौरीको भित्री भागमा कीरा लाग्ने सम्भावना हुने बताउँदै बरालले बाहिरी रूपमा सत्रु कीराले पनि आक्रमण गर्ने भएकोले त्यसलाई ध्यान दिनुपर्ने बताउनुभयो । मौरीलाई अरिङ्गाल, माउसुुली, पहेँले, माकुरा, वन साङ्लो आदिबाट जोगाउन चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ । 

मौरीको सङ्ख्या बढाउनका लागि किसान सचेत बन्नुपर्ने उल्लेख गर्दै उहाँले सुरुमा सात वटा फ्रेमभरी सकेपछि सुपर कक्ष राख्न सकिने र छाउरा कक्ष भरेपछि सुपरकक्षमा मह उत्पादन हुने बताउनुभयो । भाले, कर्मी र रानी मौरी सबैका आ–आफ्ना भूमिका रहेको उहाँको भनाइ छ । मौरी विभिन्न बाली, फलफूलका लागि पनि उपयोगी हुने बताउँदै उहाँले मौरीले गर्ने परागशेचनले बाली उत्पादनमा समेत वृद्धि हुने जानकारी दिनुभयो । जङ्गलमा फूल्ने फूलबाट औषधीय गुण भएका रस मौरीले सङ्कलन गर्ने र यसबाट उत्पादन पनि बढ्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “वन जङ्गलबाट आर्थिक लाभ लिनका लागि पनि मौरीपालन आवश्यक छ, मौरीबिना वन जङ्गलमा उत्पादित पुष्परस सङ्कलन गर्ने कुनै अर्को उपयुक्त विधि र प्रविधि देखिन्न ।”

बरालले एपि सेरेना जातको मौरीपालन गरिरहनुभएको छ । समुद्री सतहको आठ सयदेखि अधिकतम तीन हजार मिटरको उचाइमा पनि मौरीपालनको व्यावसायिक खेती गर्न सकिने उहाँको भनाइ छ । बढ्दो बेरोजगारीसँगै भइरहेको विदेश पलायनलाई रोक्नका लागि मौरीपालन उपयुक्त विकल्प हुनसक्ने बरालले बताउनुभयो । 

“मोरीपालन स्वरोजगार बन्नका लागि पनि उपयुक्त विकल्प हो, कम्तीमा ५० वटा मौरीका घारबाट व्यवसाय सञ्चालन गर्न सके मासिक रु ४० देखि ५० हजारसम्म आम्दानीका लागि भौतारिनुपर्दैन”, उहाँले भन्नुभयो ।

सहरीभन्दा पनि ग्रामीण क्षेत्र मौरीपालनका लागि उपयुक्त हुने बताउँदै उहाँले यसले गाउँबाट सहरतर्फ भइरहेको बसाइँसराइ रोक्न पनि योगदान गर्न सक्ने धारणा राख्नुभयो ।

पोखरामा वार्षिक ९० टन मह उत्पादन हुने गरेको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाको भनाइ छ । उहाँका अनुसार महानगरपालिकाभित्रका वडा नं १६, २०, २८ र ३० लाई मौरी पकेट क्षेत्र घोषणा गरिएको छ । महानगरपालिकाले अघिल्लो आर्थिक वर्षमा वडा नं १६ मा मौरीसहितका एक सय ९२ वटा घार वितरण गरेको छ भने वडा नं २० मा मौरीसहितका एक सय ८५ घार वितरण गरेको छ ।

महानगरपालिकाले वडा नं २८ मा मौरी सहितका दुई सय ५० घार र वडा नं ३० मा मौरीसहित एक सय ८३ घार वितरण गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार व्यक्तिगत रूपमा एक दुई घार राख्नेको सङ्ख्या पनि पोखरा महानगरभित्र ठुलो छ । मौरीपालन तोरी, फापरजस्ता कृषिजन्य उत्पादनका लागि पनि उपयोगी हुने बताउँदै उहाँले मौरीपालन गरेका स्थानमा १० देखि १५ प्रतिशत बढी उत्पादन पाइएको उहाँको भनाइ छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button