तपाईँ सुन्दै हुनुहुन्छः

इजरायलमा रहेका नेपालीको अवस्थाबारे परराष्ट्रमन्त्रीद्वारा संसद्लाई जानकारी

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा भएको आक्रमणमा त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे सदनलाई जानकारी गराउनुभएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै परराष्ट्रमन्त्री साउदले दक्षिण इजरायलको गाजा क्षेत्र नजिक भएको आक्रमण स्थलमा रहेको १७ जना नेपाली विद्यार्थीमध्ये २ जना सकुशल रहेको, ३ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको जानकारी दिनुभयो । 

परराष्ट्रमन्त्री साउदले बाँकी १२ जना नेपाली विद्यार्थीहरू सम्पर्क नरहेको र हताहत भएको हुने सक्ने जानकारी दिँदै स्थितिको जानकारी लिन सम्पूर्ण संयन्त्र परिचालन गरिएको जानकारी गराउनुभयो । 

इजरायलमा भएको दुखद घटनालाई नेपाल सरकारले गम्भीरतापूर्वक लिएको जनकारी दिँदै परराष्ट्रमन्त्री साउदले प्रधानमन्त्रीको अध्यक्षतामा आजै बसेको बैठकले परराष्ट्रमन्त्रीको संयोजकत्वमा सबै सरोकारवाला निकाय रहेको समन्वय संयन्त्र स्थापना गरिएको जानकारी दिनुभयो । 

परराष्ट्रमन्त्री साउदले दक्षिणी इजरायलमा भएको भयानक आक्रमणका बारेमा जानकारी आए लगत्तै त्यस क्षेत्रमा रहेका नेपालीहरूको अवस्था बुझ्न, सुरक्षाको प्रत्याभूति गर्न परराष्ट्र मन्त्रालयले आफ्ना सबै संयन्त्र परिचालन गरेको जानकारी दिनुभयो । 

विशेष समयमा बोल्दै सांसद श्यामकुमार घिमिरे मुलुकको आर्थिक स्थिति खस्कँदै गएको र थपिँदै गएको ऋणको भार मुलुकले थाम्न नसक्ने अवस्थामा पुगेको बताउनुभयो । 

सांसद घिमिरेले नेपालको ठूलो सम्भावना सेवा क्षेत्र भएको बताउँदै यसलाई ८० प्रतिशत माथि पुर्‍याउन सक्ने बताउनुभयो । 

सांसद पदम गिरीले रोजगारी र अध्ययनका लागि इजरायलमा रहेको नेपालीको सुरक्षा र उद्धारमा सरकार गम्भीरतापूर्वक लाग्नुपर्ने बताउनुभयो । 

सांसद गिरीले प्रधानमन्त्रीले नेपालको सुरक्षा र चिन्ताका विषयमा त्यहाँका प्रधानमन्त्रीसँग सोझै सम्पर्क गरेर जतिसक्दो चाँडो सुरक्षा र उद्धारमा जुट्नुपर्ने बताउनुभयो ।

सांसद हित बहादुर तामाङले इजरायल आक्रमणबाट प्रभावित नेपालीको सुरक्षा, उद्धार गर्न र नेपाल फर्कन चाहनेहरूलाई जतिसक्दो चाँडो सहयोग गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसद तामाङले मुलुकमा प्राप्त उपलब्धिमाथि प्रहार भइरहेको भन्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसद तामाङले शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न र बेपत्ता नागरिकको स्थितिका बारेमा सरकार र सम्पूर्ण राजनीतिक दलको ध्यानाकर्षण गराउनुभयो  । 

सांसद स्वर्णिम वाग्लेले डेङ्गो नियन्त्रण, अर्थतन्त्रको अवस्था र प्रयोगविहीन सकारी सवारी साधनको लिलामी सम्पन्न गर्नेमा शङ्का उत्पन्न भएको बताउनुभयो । 

सांसद धवलशमशेर जबराले इजरायलमा समस्यामा परेका हजारौँ नेपालीको उद्धार र धार्मिक सहिष्णुता कायम राख्न संवेदनशील जिल्लामा सुरक्षा व्यवस्था मजबुद बनाउन र सामाजिक सञ्जालमा धार्मिक सद्भाव खलबल्याउन नदिनेतर्फ ध्यान पुर्‍याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसद प्रदीप यादवले इजरायलमा रहेका नेपालीले सरकारसँग गुहार मागिरहेको भन्दै उद्धार गरी नेपाल ल्याउन सरकारसँग माग गर्नुभयो । 

यसअघि, शुन्य समयमा बोल्दै सांसदहरुले वीर अस्पतालको कर्मचारी व्यवस्थापन, दशैँका मुखमा महँगी, कालोबजारी र अखाद्य बस्तु नियन्त्रण, दुर्गममा खाद्यान्न अभाव, कर्मचारीसँग विचौलियाको मिलेमतो रहेको, भूकम्पपीडितलाई राहत, इजरायल आक्रमणमा परेका नेपालीको सुरक्षा र उद्धार गर्न,  स्थानीय सरकारमा भएको भ्रष्टाचार नियन्त्रणमा ध्यान दिनुपर्ने  बताउनुभयो ।

प्रतिनिधिसभाको आजको बैठकमा “विद्यालय शिक्षा विधेयक, २०८० माथिको छलफलमा उठेका प्रश्नहरूको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले जवाफ दिने र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले “विद्युत् विधेयक, २०८० माथि विचार गरियोस्” प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ । 

प्रतिनिधिसभाको आजको बैठक जारी छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button