तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वाधार विकास समितिद्वारा निर्माणाधीन संघीय संसद् भवनको अवलोकन

काठमाडौँ । प्रतिनिधि सभा, पूर्वाधार विकास समितिले निर्माणाधीन संघीय संसद् भवनको अवलोकन गरेको छ ।

समितिका सदस्यहरुले आज सिंहदरबारमा निर्माणाधीन संसद् भवनको अवलोकन गर्नुभएको हो ।

अवलोकनका क्रममा शहरी विकास मन्त्री सीता गुरुङले संघीय संसद्को हिउँदे अधिवेशन नयाँ भवनबाट गर्ने गरी काम अगाडी बढाएको भए पनि निर्माण कम्पनीले समयमा काम सम्पन्न नगरेका कारण केही ढिलाइ हुने देखिएको बताउनुभयो ।

मन्त्री गुरुङ समयमा काम सम्पन्न गर्न सम्बद्ध पक्षहरूसँग छलफल भइरहेको, कामदारको सङ्ख्या बढाउन भने पनि त्यो हुन नसकेको भन्दै छिटो भन्दा छिटो काम सक्न मन्त्रालयले ताकेता गरिरहेको बताउनुभयो ।

समितिका सभापति दीपकबहादुर सिंहले तोकिएको समयमा निर्माणाधीन संसद् भवनको काम सकिने अवस्था नदेखिएको भन्दै समितिले सम्बद्ध पक्षसँग छलफल गरेर समयमा काम सक्न पहल गर्ने बताउनुभयो ।

अवलोकनका क्रममा निर्माण पक्षले हालसम्म निर्माणाधीन संघीय संसद् भवनको भौतिक करिब ७० प्रतिशत र वित्तीयतर्फ ६७ प्रतिशत काम सम्पन्न भएको जनाएको छ ।

सिंहदरबारभित्र १ सय ५१ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको नयाँ संसद् भवनको स्वीकृत लागत अनुमान भ्याट बाहेक ६ अर्ब ९२ करोड रुपैयाँ रहेको छ ।

२०७६ साल असोज १६ गते टुन्डी सेक ज्वाइन्ट भेन्चरले संघीय संसद् भवन निर्माणका लागि सरकारसँग सम्झौता गरेको थियो ।

सरकारले निर्माण कम्पनीलाई पछिल्लो पटक दिएको समयसीमा यही असोज १७ गते बुधबार सकिँदै छ । निर्माण कम्पनीले भने काम सम्पन्न गर्नका लागि थप ६ महिना लाग्ने भन्दै सरकारसँग समय थपको माग गरेको जनाएको छ ।

यस अघि सरकारले ६/६ महिना गरेर दुई पटक आयोजनाको समय थप गरिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button