तपाईँ सुन्दै हुनुहुन्छः

धार्मिक एकता र सद्भावबाटै राष्ट्रिय एकता बलियो हुन्छ : मुख्यमन्त्री चौधरी

नेपालगञ्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले धार्मिक एकता र सद्भावबाटै राष्ट्रिय एकता बलियो हुने बताउनुभएको छ ।

इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल्लल्लाह अलैही वसल्लमको १४९८ औँ जन्मजयन्तीका अवसरमा नेपालगञ्जमा आज आयोजना गरिएको जुलुसमा सहभागी हुनुभएका मुख्यमन्त्री चौधरीले सबै धर्म र समुदाय बीचको एकता नै नेपालको विशेषता भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘आफ्नो धर्मको अनुशरण गर्दै अर्काको धार्मिक आस्थाको सम्मान गर्नुपर्छ । त्यसो हुन सकेमा मात्र देश विकास र राष्ट्रिय एकता झनै बलियो हुँदै जानेछ ।’’

नेपालगञ्जको बिपी चोकमा आयोजना गरिएको कार्यक्रममा बोल्दै पूर्व मन्त्री तथा जसपाका नेता मोहम्मद इश्तियाक राईले सबै धर्म मान्ने समुदायबीचको सद्भाव र एकतालाई अझै सुदृढ पार्नुपर्नेमा जोड दिनुभयो । उहाँले देशको विकास र उन्नतिका लागि शान्ति र स्थायित्व पहिलो शर्त भएको भन्दै सबै नेपालीले गम्भीर भएर मनन गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस अवसरमा लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्ले, संविधानसभाका सदस्यहरु अब्दुल हमिद सिद्दिकी, सर्वतआरा खानम, नेपालगञ्जका नगर प्रमुख प्रशान्त विष्ट, कोहलपुरका नगर प्रमुख पूर्णप्रसाद आचार्य, बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौर लगायत विभिन्न राजनीतिक दलका नेताहरूको उपस्थिति थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button