तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली प्रतिष्ठानमा पुग्यो मेरुदण्ड विशेषज्ञ चिकित्सकको टोली 

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा मेरुदण्डको विशेषज्ञ चिकित्सक टोली पुगेको छ । धरानदेखि बिर्तामोडसम्मका १४ जना विशेषज्ञ चिकित्सकको टोली कर्णाली प्रतिष्ठान जुम्लामा पुगेको हो ।  

एसोसिएसन अफ स्पाइन सर्जन अफ नेपालका पूर्वअध्यक्ष डा.विमलकुमार पाण्डे नेतृत्वको १४ जनाको टोली जुम्ला पुगेको हो । जुम्ला पुगेको मेरुदण्ड विशेषज्ञ चिकित्सक टोलीले कर्णाली प्रतिष्ठानका विशेषज्ञ डाक्टरहरूसँग मेरुदण्डको उपचार बारे छलफल तथा सहजीकरण गरेका छन् । 

भौगोलिक हिसाबले विकट कर्णालीमा हाडजोर्नी अझ मेरुदण्डका बिरामीहरू धेरै हुने भएको बिरामीको सफल उपचारको अनुभव साट्न जुम्ला पुगेको डाक्टर विमलकुमार पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो,“यातायातको समस्याले अस्पतालसम्म बिरामी लैजान कठिन छ । मेरुदण्डको घरदैलो सेवा र अस्पतालमा उच्चस्तरीय सेवा सञ्चालनका लागि टोलीले छलफल गरेको छ । जटिल प्रकारको मेरुदण्डको उपचार जुम्लामै होस भन्ने हामीले चाहेका छौ । जसका लागि विशेषज्ञ चिकित्सकलाई सैद्धान्तिक तथा व्यवहारिक ज्ञानको आवश्यक हुन्छ ।”

जुम्लाका पुगेको टोली र जुम्लाका डाक्टरबीच  एकदिन ज्ञान आदान–प्रदान गरेर विशेषज्ञहरूको क्षमता विकासमा सहयोग गरेको उहाँको भनाइ छ । डा. पाण्डेका अनुसार बिहान सैद्धान्तिक कक्षा लिएर दिउँसो व्यवहारिक अभ्यास गरेर जुम्लामा कार्यरत विशेषज्ञ चिकित्सकहरूको क्षमता अभिवृद्धि गर्ने कार्यक्रम गरिएको छ । 

टोलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ र एमबीबीएस डाक्टरहरू गरेर ३० जनासँग मेरुदण्डको रोग र उपचारका बारेमा छलफल गरेको प्रतिष्ठानका निर्देशक डा. पुजन रोकायाले बताउनुभयो । 

उहाँका अनुसार एसोसिएसन अफ स्पाइन सर्जन अफ नेपालका पूर्वअध्यक्ष डा. पाण्डेको नेतृत्वमा टोली जुम्ला पुगेको हो ।  टोलीमा उपाध्यक्ष डा. व्यापक पौडेल, महासचिव डा. सुरज बज्राचार्य, साइन्टिफिक कमिटीका डा.गौरव ढकाललगायत चिकित्सक छन् । 

एसोसिएसन अफ स्पाइन सर्जन अफ नेपालको सहकार्यमा मुलुकभित्र र विदेशमा पनि मेरुदण्डको उपचारबारे तालिम गर्न विशेषज्ञहरूलाई अवसर प्रदान गर्ने निर्देशक डा. रोकायाले उल्लेख गर्नुभयो । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार जुम्लाबाट २० जना मेरुदण्डको जटिल समस्या भएका बिरामीहरू अन्य अस्पताल रेफर भएका छन् । टोलीसँगको छलफलले मेरुदण्डको उपचार झनै प्रभावकारी सेवा प्रदान गर्ने ऊर्जा मिलेको डा. रोकायाको भनाई छ । कर्णालीमा भौगोलिक विकटताका कारण मेरुदण्ड लगायत हाडजोर्नीका बिरामी धेरै हुने गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button