तपाईँ सुन्दै हुनुहुन्छः

दुई पक्षबीच झडप भएपछि मलङ्गवामा अनिश्चितकालीन कर्फ्यु

सर्लाही। सर्लाही सदरमुकाम  मलङ्गवामा जिल्ला प्रशासन कार्यालय सर्लाहीले अनिश्चितकालीन कर्फ्यु लगाएको  छ । गएराती गणेश पूजा गरेको मूर्ति विसर्जन गर्नेक्रममा दुई पक्षबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले  राति १० बजेदेखि अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।

स्थानीय प्रशासनले मलङ्गवा नगरपालिकाको पूर्वमा झिम नदी, पश्चिमा मुसैली नहर, उत्तरमा प्रहरी चौकी र दक्षिणीमा नेपाल–भारत सीमा क्षेत्रभित्र कर्फ्यु लगाएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

 झडपमा परी प्रहरीसहित केही स्थानीय घाइते भएका छन् । घाइतेहरूको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको छ । स्थानीय प्रशासनले थप  शान्ति सुरक्षा बिग्रन नदिन कर्फ्यु जारी गरेको जनाएको छ । मूर्ति विसर्जन गर्न गएकासँग अर्को समूहले ढुङ्गा मुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्याँस प्रहार गरेको थियो । अहिले मलङ्गवामा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

मूर्ति सेलाउने क्रममा हिन्दू समुदाय माथि मुस्लिम समुदायका केही व्यक्तिले घरको छतमाथिबाट तातो पानी र ढुङ्गा फालेको स्थानीय हिन्दू पक्षधरहरूको भनाइ रहेको छ।

केही दिन अगाडि भएको झडप पश्चात् दुई समुदायका बीच सद्भाव कायम गर्न  ¥यालीसमेत निकालिएको थियो तर आज पुनः झडप भएको हो।

यसअघि गएको भदौ २२ गते पनि कृष्णको मूर्ति विसर्जन गर्ने क्रममा यही क्षेत्रमा झडप भएको थियो । झडप भएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले २३ गते बेलुका ५ बजेदेखि २४ गते बिहान ८ बजेसम्म कर्फ्यु लगाएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button