तपाईँ सुन्दै हुनुहुन्छः

मधुवनमा घाँस काट्दै गरेकी महिलाको बाघको आक्रमणबाट मृत्यु

बाँके । पाटे बाघको आक्रमणबाट बर्दियाको मधुवन नगरपालिकामा एक महिलाको ज्यान गएको छ ।

मधुवन नगरपालिका–३ भग्रैया नजिक पाटे बाघको आक्रमणमा परी स्थानीय ५५ वर्षीया कली वंशी मगरको ज्यान गएको हो ।

नेपाल–भारत सीमा तथा खाता संरक्षण क्षेत्र नजिक शुक्रबार दिउँसो घाँस काट्ने क्रममा बाघको आक्रमणमा परि महिलाको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत द्रोणराज शर्माले जानकारी दिनु भयो।

बाघले आक्रमण गरि महिलालाई जङ्गलतर्फ पुर्‍याएको थियो । खोजी गर्ने क्रममा सम्झना सामुदायिक वनमा एउटा हात बाघले खाएको अवस्थामा महिलाको शव फेला परेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत शर्माले बताउनु भयो ।

नजिकैको सामुदायिक वन र राष्ट्रिय वनभित्र घाँस, दाउरा लिन र च्याउ तथा साग खोज्न जङ्गल जानेक्रम पनि बढेको डिभिजन वन कार्यालयले जनाएको छ ।

जङ्गल नजिकैका स्थानीय जङ्गल जाने कारणले हरेक वर्ष बाघ आक्रमणका घटना हुने गरेको डिभिजन वन कार्यालय बर्दियाको भनाइ छ । खाता जैविक मार्ग क्षेत्रमा बाघ लगायतका वन्यजन्तुको दिनहुँ त्रास रहेको खाता समन्वय समितिका अध्यक्ष हरि गुरुङले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button