तपाईँ सुन्दै हुनुहुन्छः

एमालेले वेल घेराउ गरेपछि प्रतिनिधिसभाको बैठक आज पनि अवरुद्ध

प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक पनि स्थगित भएको छ ।

प्रतिपक्षी दल एमालेले सुन तस्करी काण्डको छानबिनका लागि उच्चस्तरीय छानविन समिति गठन हुनुपर्ने माग राख्दै नाराबाजी गरेपछि बैठक सञ्चालन हुन नसकी स्थगित भएको हो । 

बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले एमालेका सांसद सूर्य थापालाई बोल्न समय दिनुभयो । 

सांसद थापाले बोलिरहँदा सत्ता पक्षीय दलका सांसदहरु समेत सिटबाट उभिएपछि सभामुख घिमिरेले बैठक सञ्चालनका लागि सहयोग गर्न सांसदहरूसँग आग्रह गर्नुभयो  । 

सभामुख घिमिरेले संसद्मा उठेका विषयमा सरकार र सदनको ध्यानाकर्षण भइसकेको र यस विषयमा सरकारका उपप्रधानमन्त्री एवं गृहमन्त्रीबाट समेत जवाफ आइसकेको भन्दै बैठक सुचारु गर्न पटक पटक आग्रह गर्नुभएको थियो । 

त्यसपछि पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु उठेर रोष्टम अगाडि नाराबाजी गर्न थालेपछि सभामुख घिमिरेले प्रतिनिधिसभाको बैठक स्थगित भएको सूचना दिनुभयो । 

प्रतिनिधिसभाको मङ्गलवारको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायण काजी श्रेष्ठले सुन तस्करीको छानबिनका लागि राज्यका निकायहरूले नियम कानून अनुसार काम गरिरहेकाले त्यसमा विश्वास गर्न र सबैले सहयोग गर्न आग्रह गर्नुभएको थियो । 

तर प्रतिपक्षी दल नेकपा एमालेले गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको र उच्च स्तरीय छानविन समिति गठन हुनुपर्ने माग राख्दै विरोध जनाएपछि मङ्गलवारको बैठक पनि कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको थियो । 

प्रतिनिधिसभाको अर्को बैठक साउन २६ गते शुक्रबार दिउसो १ः०० बजे बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button