तपाईँ सुन्दै हुनुहुन्छः

मौलिक परिकारको प्रवर्द्धन आवश्यक : मन्त्री शर्मा

काठमाडौँ । आज नेपाली समाजमा खीर खाएर साउन १५ मनाइँदै गरेको बेला मौलिक बजार तथा मौलिक भान्छा घर कपनले पनि खीर महोत्सवको आयोजना गरी विभिन्न मौलिक खीरका परिकारहरू ग्राहकमाझ ल्याएको छ ।

त्यस महोत्सवको हौसला बढाउन नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा आज त्यहाँ पुगेर युवा सुमन दाहालले सञ्चालनमा ल्याएको मौलिक बजार तथा मौलिक भान्छा घरको मौलिक सेवाको सराहना गर्नुभयो ।

युवाहरू स–साना कामका लागि विदेशिने क्रम बढ्दै जाँदा दाहाल जस्ता युवाले सुरु गरेका यस्ता कार्यक्रम प्रेरणादायी रहेका र यसबाट आफ्नै देशमा केही गर्नुपर्छ भन्ने भावनाको विकास हुँदै जाने आफूले विश्वास लिएको मन्त्री शर्माले बताउनुभयो ।

मन्त्री शर्माले यस्ता मौलिक बजार र मौलिक परिकारको प्रवर्द्धन गर्दै अगाडी बढ्न सक्ने हो भने समृद्ध नेपालको चाहना पूरा गर्न यसबाट केही मात्रामा भएपनि सकारात्मक भूमिका निर्वाह हुने पनि बताउनुभयो ।

मन्त्री शर्मासँगै सुदूरपश्चिम प्रदेशका पर्यटन तथा वन मन्त्री रमेश धामी, पूर्व प्रदेश मन्त्री कृष्णध्वज खड्का, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव द्वय नेत्रप्रसाद सुवेदी र बाबुराम भण्डारी, सञ्चार मन्त्रीका स्वकीय सचिव हेमराज शर्मा ‘डायमन्ड’ लगायतले मौलिक भान्छा घरको अवलोकन गर्नुभएको थियो ।

वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ ।

चामल, साबुदाना, सेवइ, मकै, गाजर लगायतको खीर बनाउने गरिन्छ ।

काठमाडौँको आकाशेधारा कपनस्थित मौलिक बजार तथा मौलिक भान्छा घर अहिले देशका विभिन्न स्थानका मौलिक स्वादका लागि लोकप्रिय बन्दै गएको छ ।

आकाशेधारा कपनका सुमन दाहालले मौलिक परिकारहरूको प्रवर्द्धन गर्दै त्यसलाई व्यावसायिक रूप दिएर मौलिक बजार तथा मौलिक भान्छा घर सञ्चालनमा ल्याउनुभएको छ ।

सञ्चालक दाहालले सञ्चालन गरेको मौलिक बजार तथा मौलिक भान्छा घरमा देशका विभिन्न स्थानका मौलिक परिकारहरू खान पाइनुका साथै मौलिक परिकारका कच्चा पदार्थहरू समेत विक्री वितरण भइरहेको छ ।

सात रोपनी क्षेत्रफलमा फैलिएको त्यस भान्छा घरमा आफ्नै करेसाबारी पनि रहेको छ । त्यहाँ उत्पादित अर्ग्यानिक उत्पादन सबैका लागि रुचिको परिकार बन्दै गएको सञ्चालक दाहाल बताउनुहुन्छ ।

त्यस भान्छा घरमा देशका विभिन्न भेषभुषा र संस्कृतिको झल्को दिने गरी सजाइएको छ भने विभिन्न मौलिक पहिरनका साथ मौलिक परिकार ग्राहकमाझ पस्कने व्यवस्था पनि मिलाइएको छ ।

देशको भूगोल तथा ठाउँ अनुसार मनाइने मौलिक चाडपर्व र त्यस अवसरमा खाइने विशेष परिकारको महत्त्व बुझाउने र मौलिक परिकारहरूको बारेमा अहिलेका युवा पुस्तालाई समेत जानकारी गराउन मौलिक बजार तथा मौलिक भान्छा घर महत्वपूर्ण भएको त्यहाँ पुग्नुभएका ग्राहकहरूले बताएका छन् ।

मौलिक परिकारको स्वादसँगै डाँडा नजिकको फराकिलो क्षेत्रमा अवस्थित भान्छा घरमा वातावरणको हिसाबले समेत राम्रो आनन्द मिल्ने गरेको ग्राहकहरू बताउनुहुन्छ ।

आफ्नै गाउँघरका मौलिक उत्पादन र मौलिक विधिलाई प्रयोग गर्दै अगाडी बढ्ने हो भने आफ्नै गाउँ ठाउँमा पनि केही गरेर राम्रो आम्दानीसँगै देशका मौलिक उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्न सकिन्छ भन्ने समाजमा जागरण फैलाउन र सकारात्मक सन्देश प्रवाह गर्न आफूले सुरु गरेको यो काम लोकप्रिय बन्दै गएपछि आफूलाई खुशी लागेको र यसबाट यस व्यवसायलाई अझ व्यवस्थित ढंगले अगाडी बढाउन हौसला मिलिरहेको भान्छा घरका सञ्चालक सुमन दाहालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button