तपाईँ सुन्दै हुनुहुन्छः

रासायनिक मलको अभाव छैन : मन्त्री भुसाल

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री बेदुराम भुसालले युरिया, डिएपी लगायतका रासायनिक मलको अभाव नरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभा अर्थ समितिको आजको बैठकमा कृषि तथा पशुपंक्षी विकासमन्त्री भुसालले वितरण प्रणालीमा समस्या देखिएका कारण किसानको गुनासो आउने गरेको जानकारी गराउनुभयो ।

मन्त्री भुसालले मल वितरण स्थानीय तहले गर्ने र त्यहाँको वितरण प्रणाली राम्रो हुन नभएको, लुकाउने, कालोबजारी हुने गरेका कारण किसानले मल पाउन नसकेको भन्ने गुनासो बढेको बताउनुभयो ।

मन्त्री भुसालले अहिले पनि ७८ हजार २ सय ८४ मेट्रिक टन मल मौज्दात रहेको जानकारी दिँदै २५ हजार मेट्रिक टन बाटोमा आउँदै गरेको र आगामी वर्षका लागि समेत मलका लागि स्रोत सुनिश्चित भइसकेको जानकारी गराउनुभयो ।

कृषि विकास सचिव डा. गोविन्द प्रसाद शर्माले कृषि मन्त्रालयमा आउने गुनासोमध्ये ५० प्रतिशत गुनासो मलसम्बन्धी रहेको बताउँदै स्थानीय तहको वितरण प्रणालीका कारण समस्या रहेको बताउनुभयो ।

सचिव शर्माले वितरण प्रणालीमा चुनौती भएपनि मल अभाव र युरियाको गुणस्तरमा कुनै शङ्का गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

अर्थ सचिव अर्जुन प्रसाद पोखरेलले खर्चका आधारमा बजेट उपलब्ध गराएको बताउँदै युरिया मलको प्रयोग कुन कुन बालीमा गर्ने भन्नेबारे किसानलाई बुझाउन सक्नुपर्ने बताउनुभयो ।

अर्थ सचिव पोखरेलले मल कारखाना खोल्नुअघि त्यसको सबै पक्षमा गहन ढंगले सम्भाव्यता अध्ययन गर्न आवश्यक रहेको पनि बताउनुभयो ।

उद्योग सचिव मधु कुमार मरासिनीले आपूर्तिमा साल्ट ट्रेडिङले ल्याउने भने जति मल ल्याएको बताउँदै मल अभावमा उद्योग तथा आपूर्ति मन्त्रालयको कुनै भूमिका नरहेको बताउनुभयो ।

सांसदहरुले मल अभाव विगतदेखि कै समस्या रहेको भन्दै किसानले सधैँ मल नपाउनुका कारण र मल मौज्दातको अवस्थाबारे जानकारी माग गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button