तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडामा रक्ततत्व निर्माण एवम् वितरण सेवा सुरु

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडामा आज (शुक्रबार) बाट रक्ततत्व निर्माण एवम् वितरण सेवा सुरु भएको छ ।

अमेरिकन रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाले रक्ततत्व वर्गीकरण गर्ने आवश्यक महत्त्वपूर्ण उपकरण जडान गरी आजबाट सेवा शुभारम्भ गरेको हो ।

उक्त सेवाको आज एक कार्यक्रमबीच बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले शुभारम्भ गर्नुभयो । २०५२ सालमा हेटौँडामा स्थापना भएको रक्तसञ्चार केन्द्र हेटौँडाले हाल ब्लडको मात्र कार्य गर्दै आएकोमा अब उक्त मेसिनको माध्यमबाट हेटौँडामै प्लाज्मा, प्लेटलेट र प्याकसेल छुट्टाछुट्टै निर्माण गरी वितरण गर्न सकिने बताइएको छ ।

सेवा सञ्चालन गर्न मनहरी गाउँपालिकाले कार्यालय व्यवस्थापनका लागि र हेटौँडा उपमहानगरपालिकाले प्लाज्मा तथा प्लेटलेटलाई सुरक्षित राख्न आवश्यक फ्रिजसहितको उपकरण सहयोग गरेको रक्तसञ्चार केन्द्र हेटौँडाका प्रमुख टङ्क दाहालले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटी मकवानपुरका सभापति लालबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, प्रमुख जिल्ला अधिकारी सूर्य सेढाई, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्टार राजेश प्रसाईँ, रेडक्रस मकवानपुरका उपसभापति खेमराज सापकोटा, मन्त्री सुमित्रा काफ्ले, कोषाध्यक्ष किशोर बर्तौला, उपमन्त्री शिवहरि दाहाल, कार्यालय प्रमुख लक्ष्मण भट्टराई लगायत जिल्ला शाखा सदस्यहरु, विभिन्न उपशाखाका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button