तपाईँ सुन्दै हुनुहुन्छः

संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल इटली प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सप्ताहव्यापी इटली भ्रमणका लागि आज इटलीको रोमका लागि प्रस्थान गर्नुभएको छ । 

प्रधानमन्त्री प्रचण्ड कतार एयरवेजको उडानमार्फत आज बेलुकी ६ः०० बजे काठमाडौँबाट रोमका लागि प्रस्थान गर्नुभएको हो । 

प्रधानमन्त्री प्रचण्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री द्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, मन्त्रीहरू, सुरक्षा निकायका प्रमुखहरू तथा नेपाल सरकारका उच्च अधिकारीहरुले बिदाई गर्नुभयो ।

यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री प्रचण्डको सम्मानमा सम्मान गारथ सलामी अर्पण गरेको थियो ।  

प्रधानमन्त्री प्रचण्डले पर्सी साउन ८ गते सोमबारदेखि १० गतेसम्म रोममा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिनुहुने र सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको भ्रमण दलमा कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा.जयकान्त राउत तथा प्रधानमन्त्री सचिवालयका सदस्य एवं प्रधानमन्त्री पुत्री गङ्गा दाहाललगायत उच्च अधिकारीहरू सहभागी हुनुहुन्छ । 

प्रधानमन्त्री प्रचण्ड सहितको प्रतिनिधि मण्डल ईटालीको भ्रमण पुरा गरी यही साउन १२ गते शुक्रबार बिहान १०ः ०५ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button