तपाईँ सुन्दै हुनुहुन्छः

अझै नियन्त्रणमा आएन ‘लम्पी स्किन’

चितवन।  जिल्लामा पशुचौपायमा देखिएको लम्पिस्किन रोग अझै नियन्त्रणमा आउन सकेको छैन । सङ्क्रमणदर केही कम भए पनि नियन्त्रणमा आउन नसकेको हो । 

पछिल्लो समय सात पालिकामा नौ हजार पाँच सय ४१ पशु चौपाय प्रभावित भएका छन् । ती मध्ये नौ हजार दुई सय पाँच गाई र तीन सय ३६ भैँसी छन् । जिल्लामा ९३ हजार एक सय ८२ गाई र ७२ हजार नौ सय ७८ भैँसी पालिएको तथ्याङ्क रहेको छ । तीमध्ये छ हजार पाँच सय ३९ गाई र दुई सय ६० भैँसीमा यो रोगको सङ्क्रमण देखिएको हो । 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका अनुसार हाल सम्म यस रोगका कारण दुई सय २९ वटा गाई मरेका छन् । सबैभन्दा धेरै इच्छाकामना गाउँपालिकामा गाई मरेका छन् भने कम कालिका र खैरहनी नगरपालिकामा मरेको कार्यालयका पशु विकास अधिकृत डा रामचन्द्र आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार इच्छाकामना गाउँपालिकामा ६५ , भरतपुर महानगरपालिकामा ३५, राप्ती नगरपालिकामा ६२ , रत्ननगर नगरपालिकामा ३५ , कालिका नगरपालिकामा १० , खैरहनी नगरपालिकामा १०  र माडी नगरपालिकामा १२ वटा गाई मरेका हुन ।

जिल्लाका तीन पालिकामा पालिएका १८ हजार ४० गाईभैँसीमा रोगविरुद्धको खोप दिइएको छ । भरतपुर महानगरपालिकामा तीन हजार सात सय ९०, रत्ननगर नगरपालिकामा आठ हजार दुई सय ५० र राप्ती नगरपालिकामा छ हजार गाईभैँसीमा खोप दिइएको उहाँले बताउनुभयो । विज्ञ केन्द्रबाट प्रभावित क्षेत्रका पाँच हजार गाईभैँसीलाई औषधि वितरण गरिएको छ । अन्य पालिकामा जैविक सुरक्षा अपनाउने र अन्य उपचारको काम भई रहेको कार्यालयले जनाएको छ ।

पछिल्ला दिनहरुमा खोप लगाउने पशुपालक किसानको सङ्ख्या बढ्दो क्रममा रहेको उहाँले जानकारी दिनुभयो । जिल्लामा पालिएका पशु चौपायामा ७० प्रतिशतलाई खोप लगाए पछि मात्रै नियन्त्रण उन्मुख  आउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेनै नियन्त्रण उन्मुख भन्न मिल्दैन”, पहिलेको तुलनामा सङ्क्रमण दर कम भए पनि रोग देखिने क्रम नरोकिएको उहाँले बताउनुभयो ।

गर्मीयाममा लामखुट्टे, झिङ्गालगायतका कारण यो रोगको जोसखम देखिने गरेको उहाँले जानकारी दिनुभयो । गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, थुतुनो, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, ¥याल काढ्ने, लिम्फनोड सुक्नेजस्ता लक्षण देखापर्छ ।

यो रोग विशेष गरी सङ्क्रमित लामखुट्टे, झिङ्गालगायतको टोकाइबाट लाग्ने गर्दछ । सङ्क्रमित गाईबस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ । यो रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिङ्गा, लामखुट्टे तथा अन्य कीराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकतानुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने पशु विकास अधिकृत आचार्यले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button