तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय मुद्दाहरूमा एकमत भएर जानुपर्नेमा काँग्रेस केन्द्रीय सदस्यहरूको जोड

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आज ३५ जना केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्नुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा आज बोल्ने केन्द्रीय सदस्यहरुले पार्टी भित्रको गुट र व्यक्तिवादी चिन्तनको अन्त्य गरी सामूहिक निर्णयका आधारमा अगाडि बढ्न नेतृत्वलाई आग्रह गर्नुभयो ।

कोशी प्रदेशको नामाकरण, सरकार गठन, नक्कली भुटानी शरणार्थी प्रकरण र भ्रष्टाचारको विषयमा पार्टीको धारणा सार्वजनिक गर्न माग गर्दै केन्द्रीय सदस्यहरुले राष्ट्रिय मुद्दाहरूमा एकमत भएर जनता समक्ष जानुपर्नेमा जोड दिनुभयो ।

यस्तै बैठकमा बोल्ने केही केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्व विभाजित हुँदा मङ्गलवारदेखि जारी बैठकको सुरुमा पार्टीका महामन्त्री गगनकुमार थापाले पेश गर्नुभएको वार्षिक कार्यतालिका समेत कार्यान्वयन हुनेमा शङ्का उत्पन्न हुने बताउनुभयो ।

बैठकमा आर्थिक मन्दीको अवस्थाबाट देशलाई निकास दिन र युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी जीवन धान्नकै लागि बिदेसिनुपर्ने अवस्थाको अन्त्य गर्न पार्टीले प्रभावकारी भूमिका खेल्नुपर्ने, गाइवस्तुमा महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगबाट पीडित किसानलाई राहत दिन पहल गर्नुपर्ने लगायतका समसामयिक विषय पनि केन्द्रीय सदस्यहरुले उठाउनुभएको छ ।

बैठकमा छलफलका लागि पेश भएको समसामयिक राजनीतिक, आर्थिक, सामाजिक विषय विभिन्न १० एजेन्डा तथा विभिन्न समितिहरूका तर्फबाट पेश भएका प्रतिवेदनहरू माथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी छ ।

बैठक भोलि बिहान ११ बजे पुनः बस्ने र बाँकी केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्नुहुने नेपाली काँग्रेसले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button