तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल नेत्रज्योति संघ र ललितपुर महानगरबिच सम्झौता, ज्येष्ठ नागरिकको घरघरमै आँखा उपचार 

काठमाडौँ । नेपाल नेत्रज्योति संघ र ललितपुर महानगरपालिका बीच महानगरका सम्पुर्ण ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकहरूको निःशुल्क आँखा उपचार गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

सोमबार ललितपुर महानगरपालिकामा आयोजित ललितपुर महानगरपालिका र स्वास्थ्य सरोकारवाला संस्थाहरू बिच “ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूसँग महानगरपालिका कार्यक्रम” सञ्चालन गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

उक्त सम्झौतापत्रमा नेपाल नेत्रज्योति संघका तर्फबाट महासचिव भरतबहादुर चन्द र कार्यकारी निर्देशक डा. शैलेश कुमार मिश्रले र महानगरपालिकाका तर्फबाट महानगर प्रमुख चिरिबाबु महर्जन र प्रमुख कार्यकारी अधिकृत गणेश अर्यालले हस्ताक्षर गर्नु भएको हो ।

महानगरपालिकाले विभिन्न संघ संस्थाहरू सँगको सहकार्यमा नगरभित्रका ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकहरूको घरघरमै गएर विभिन्न समस्याहरूको परिक्षण गर्नेछ । महानगरको उक्त कार्यक्रममा नेपाल नेत्रज्योति सङ्घले आँखा जाँच तथा उपचारमा महानगरलाई प्राविधिक सहयोग गर्ने संघका कार्यकारी निर्देशक डा. शैलेश कुमार मिश्रले बताउनुभयो । 

उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै महानगर प्रमुख महर्जनले शारीरिक असक्तता र विभिन्न बाध्यताले अस्पतालसम्म पुग्ने नसकेका ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकहरूलाई घरघरमै गएर उपचार गर्ने योजनामा साथ दिएको नेत्रज्योति सङ्घलाई धन्यवाद दिँदै यो सहकार्य दीर्घकालसम्म चलिरहने समेत बताउनुभयो । 

त्यस्तै कार्यक्रममा बोल्दै संघका महासचिव भरतबहादुर चन्दले नेपालका कोही पनि नागरिकहरू पहुँच र पैसाको अभावमा आँखा उपचार सेवाबाट बञ्चित नहुन् भन्ने उद्देश्यले सङ्घले देशैभरि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउँदै नेपालको अन्धोपना न्यूनीकरणमा जनप्रतिनिधिहरूले निर्वाह गरेको महत्त्वपूर्ण भूमिकाका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि नेपालबाट उपचार पछि निको हुने अन्धोपन निवारणका लागि तिनै तहका सरकारहरूसँग सहकार्य र समन्वय गरि अगाडी बढ्ने समेत बताउनुभयो । 

नेपाल नेत्रज्याति सङ्घले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५४ आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरू मार्फत नागरिकहरूलाई गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ । उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा संघका कोषाध्यक्ष द्रोणप्रसाद गुराँगाई, महानगरका विभिन्न वडाका वडाध्यक्ष एवं विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button