तपाईँ सुन्दै हुनुहुन्छः

धुर्मुस–सुन्तली फाउन्डेसनले बनाएको नमुना बस्ती हस्तान्तरण गर्दा कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले धुर्मुस–सुन्तली फाउन्डेसनले सिन्धुपाल्चोकको गिरान चौरमा निर्माण गरेको एकीकृत नमुना बस्तीको हक हस्तान्तरण गर्दा लाग्ने कर छुट दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले पुनर्निर्माण तथा पर्यटन प्रवद्धन परियोजनाको स्वामित्वमा रहेको घरजग्गा स्थानीयलाई हस्तान्तरण गर्दा लाग्ने कर छुट दिने निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले नेपाल चीन सीमा क्षेत्रमा पर्ने तातोपानी झ्याङ्मोमा हराएको सीमा स्तम्भलाई यथास्थानमा पुनर्स्थापना गर्ने निर्णय गरेको सञ्चारमन्त्री शर्माले जानकारी दिनुभयो ।

यस्तै मन्त्रिपरिषद् बैठकमा हालै मात्र पूर्वी नेपालका विभिन्न जिल्लामा गएको बाढी पहिरोका कारण पुगेको क्षति तथा उद्धार र राहतका विषयमा समेत छलफल भएको मन्त्री शर्माले बताउनुभयो ।

यस सम्बन्धमा सञ्चारकर्मीको एक जिज्ञासामा सञ्चारमन्त्री शर्माले उद्धारको कामलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्न मातहतका निकायलाई निर्देशन दिइएको र त्यसपछि राहत र पुनःस्थापनाका काम पनि नियम र काननअनुसार भईनै रहने स्पष्ट पार्नुभयो ।

यस्तै संसदमा बजेटका सन्दर्भमा सत्तारुढ दलहरू बीच नै असन्तुष्टि रहेकोमा त्यस विषयमा पनि केही छलफल भयो कि भन्ने सञ्चारकर्मीको एक अर्को जिज्ञासामा सञ्चारमन्त्री शर्माले मन्त्रिपरिषद् बैठकमा त्यस विषयमा छलफल नभएको तर सत्ता साझेदार दलहरू बीचको बैठकबाट आएका समस्याहरूको समाधान खोजिने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button