तपाईँ सुन्दै हुनुहुन्छः

दादुरा रुबेला खोप अभियानको बस्ती स्तरमा छलफल  

दाङ । दाङमा दादुरा रुबेला खोप अभियान २०८० लाई सफल पार्न वडास्तरमा छलफल हुन सुरु भएको छ । 

जिल्लामा रहेका स्वास्थ्य कार्यालय, पालिकास्तरमा रहेका स्वास्थ्य शाखा तथा वडास्तरमा रहेको स्वास्थ्य संस्थाले अभियानलाई सफल पार्न छलफल सुरु गरेका हुन् । 

सन् २०२६ भित्र दादुरा रोगलाई निराकरण गर्ने गरी नेपाल सरकारले अभियान सुरु गरेपछि तल्लो स्तरमा छलफल सुरु भएको हो । 

राज्यले अघि सारेका अभियानलाई सफल पार्न स्थानीय जनप्रतिनिधि, महिला स्वयंसेविका, पत्रकार तथा शिक्षकहरूको भूमिका हुने भन्दै छलफल सुरु गरिएको बबई गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष तिलकराम भण्डारीले बताउनुभयो । 

राज्यका सबै अभियानलाई स्थानीय तहमा अपनत्व कायम गर्ने गरी छलफललाई अघि बढाएको वडाध्यक्ष भण्डारीले जानकारी दिनुभयो । पछिल्लो पटक बाँकेको नेपालगञ्जबाट सुरु भएको दादुराको महामारी देशका विभिन्न जिल्लामा पुगेको भन्दै वडाध्यक्ष भण्डारीले सबैले छ महिनादेखि १५ बर्ष उमेर समूहका सन्तानलाई खोप लगाउन आग्रह समेत गर्नुभयो । 

पछिल्लो पटकको खोप अभियान विद्यालय स्तरमा रहेको भन्दै सबैले चलाख भएर सहयोग गर्न महिला स्वयंसेविका सुनिता बस्नेतले आग्रह गर्नुभयो । 

राज्यले अघि सारेको अभियान ठिक रहेको भन्दै बस्नेतले सबैको सहयोगले मात्रै राज्यका काम सफल हुने बताउनुभयो । यसका लागि प्रचारप्रसारको काम बस्ती स्तरमा पुग्नुपर्ने उहाँले बताउनुभयो । 

दादुरा रुबेला खोप अभियान २०८० सफल पार्नका लागि बबई गाउँपालिका वडा नम्बर ७ मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्र चरकमटियाले सोमबार अभिमुखीकरण गरेको छ । 

वडाका स्थानीय जनप्रतिनिधि, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका, पत्रकारहरूको सहभागितामा अभिमुखीकरण कार्यक्रम गरेको हो । 

अभिमुखीकरण कार्यक्रमले जेठ ३१ गतेदेखि असार ७ गतेसम्म खोप अभियान चलाउने निर्णय गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button