तपाईँ सुन्दै हुनुहुन्छः

‘सुर्तीजन्य पदार्थ प्रयोग न्यूनीकरणमा चुनौती’

चितवन । चितवनका चिकित्सकहरूले सुर्तीजन्य सेवनकर्ताहरू बढ्दै गएको बताउनुभएको छ । यसका प्रयोगकर्ताको अनुपात बर्सेनि बढ्दै गइरहेको उहांँहरुको भनाई छ । 

आज विश्व सुर्तीजन्य रहित दिवसको अवसरमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा सुर्तीजन्य प्रयोगकर्ता न्यूनीकरणमा चुनौती थपिएको बताउनुभएको हो । 

सो अवसरमा बोल्दै अस्पतालका अध्यक्ष डा.विजयराज न्यौपानेले सुर्तीजन्य प्रयोग कर्ता विश्वभर मात्र नभई नेपालमा पनि बढ्दै गएको बताउनुभयो । 

“सुर्तीजन्य पदार्थ प्रयोग गर्ने सङ्ख्या किशोर– किशोरी युवा–युवतीको सङ्ख्या बढ्दै गएको पाएका छौँ”, उहाँले भन्नुभयो, “यो समस्या समाजको लागि मात्र नभई देशको लागिनै चुनौती बनेको छ ।” नेपालमा क्यान्सरको उपचार सहज हुँदै गएपनि प्रयोगकर्तामा कमी भने नआएको उहाँको भनाई छ । 

अस्पतालका कार्यवाहक कार्यकारी निर्देशक डा.कृष्णसागर शर्माले सरकारले यसको नीति कार्यान्वयनमा कडाइ नगरेकोले पनि सुर्तीजन्य पदार्थको प्रयोग बढ्दै गएको बताउनुभयो । जसका कारण पछिल्लो समय अस्पतालमा फोक्सोका क्यान्सर र मुखका क्यान्सरका बिरामी अस्पतालमा बढी आएको उहाँले जानकारी दिनुभयो । 

यसको न्यूनीकरणका लागि सचेतना एवं निरुत्साहित गर्ने योजना तीनै तहका सरकारले ल्याउनु पर्ने उहाँले धारणा राख्नुभयो । विश्वमा प्रत्येक बर्ष दुई सय हेक्टर जमिन सुर्तीजन्य खेतीको लागि थपिएको भन्दै भविष्यमा यसको असर खाद्य सङ्कटमा पर्ने उहाँको भनाई छ । 

अस्पतालकी अर्का डा.अस्मिता रानाले प्रस्तुतीकरण दिँदै नेपालमा सुर्तीजन्य पदार्थको सिकारमा ३८ लाख नागरिक परेको बताउनुभयो । 

“हामीले क्यान्सर बिरामीलाई वर्गीकरण  तीन चरणमा गरेका छौँ । पहिलो प्रत्यक्ष सेवन गर्ने, दोस्रो प्रत्यक्ष सेवनकर्ताको नजिक बस्ने र तेस्रो चरण सुर्तीजन्य पदार्थ प्रयोग गरेको स्थान अन्य व्यक्तिले प्रयोग गर्नु ।”, उहाँले भन्नुभयो । 

उहाँले सुर्तीजन्य प्रयोग वृद्धिमा चुनौती रहेको भन्दै हरेक १० वटा क्यान्सर रोगमध्ये ९ वटा सुर्तीजन्य पदार्थको प्रयोगले भएको जानकारी दिनुभयो । सुर्तीजन्य पदार्थको प्रयोगको फजुल खर्चसँगै क्यान्सर उपचार खर्च गुणात्मक रुपमा बढी हुने गरेको उहाँको भनाई थियो । 

हरेक वर्षको ३१ मे मा विश्व सुर्तीजन्य रहित दिवस मनाइँदै आएको छ । यसैक्रममा चितवनमा पनि खाना चाहियो, सुर्तीजन्य पदार्थ चाहिने भन्ने मुल नाराका साथ विभिन्न कार्यक्रम गरी विश्व सुर्तीजन्य दिवस मनाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button