तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीको आफ्नै ‘ट्रेडमार्क’ बनाऔँ : पूर्व अर्थमन्त्री शर्मा 

सुर्खेत । पूर्व अर्थमन्त्री जर्नादन शर्माले कर्णालीका खनिज तथा जडीबुटीजन्य वस्तुको सङ्कलन, भण्डारण तथा विक्री वितरणमा योजनाबद्ध ढंगले अघि बढ्न आवश्यक रहेको बताउनुभएको छ । 

आज सुर्खेतको वीरेन्द्रनगर स्थित प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रको निरीक्षण गर्दै पूर्व अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता शर्माले जडीबुटीका लागि प्रसिद्ध कर्णालीमा खनिज तथा जडीबुटीजन्य वस्तुको सङ्कलन तथा प्रशोधन केन्द्र नहुँदा विदेश निर्यात गर्नु पर्ने बाध्यता हटाउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

उहाँले बहुमूल्य जडीबुटी तथा खनिज जन्य वस्तुको प्रशोधन केन्द्र निर्माण गरि रोजगारीसँगै दिगो आम्दानी समेत लिन सकिने भएकाले नीतिगत रूपमै अघि बढ्न केन्द्रलाई सुझाव दिनुभयो । 

आधुनिक प्रविधिको प्रयोग गरि कर्णालीमा उत्पादित आयुर्वेद औषधिको आफ्नै  (टे«ड मार्क) सहितको बजारीकरण गर्न तर्फ जुट्न केन्द्रलाई उहाँले सुझाव दिनुभयो । उहाँले आयुर्वेदको महत्त्व जडीबुटीमा निर्भर रहेकाले सङ्कलन, भण्डारण, प्रशोधन, उत्पादन, बजारीकरणका लागि प्रचारप्रसारसँगै अनुसन्धान एवं निरन्तर अन्वेषणका लागि दक्ष जनशक्ति परिपूर्ति तर्फ समेत ध्यान दिन आवश्यक रहेको औँल्याउनुभयो । 

प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रका निर्देशक डा.शङ्कर प्रसाद रिजालले  प्रदेश सरकारको सहयोग तथा समन्वयमा केन्द्रले ११ प्रकारका गुणस्तरीय आयुर्वेद औषधि उत्पादन गरि बिरामीलाई निःशुल्क वितरण गरिरहेको जानकारी दिनुभयो । 

उहाँले हाल केन्द्रमा जनशक्तिसँगै पर्याप्त भौतिक पूर्वाधार अभावलाई परिपूर्ति गर्न सबै पक्षसँग सहयोग तथा समन्वय गरेर अघि बढिरहेको बताउनुभयो । 

प्रदेश आयुर्वेद अस्पतालको स्तरोन्नतिसहित खनिज तथा औषधजन्य जडीबुटी  खेती, दिगो सङ्कलन केन्द्र, प्रशोधन, उत्पादनसँगै बजारीकरणका लागि निरन्तर तीनै सरकारको सहयोग अपरिहार्य रहेको उहाँको भनाइ थियो । 

कर्णालीमा १ सय ४७ प्रजातिको जडीबुटी पाइने गरेको छ । ती मध्ये बिरामीलाई केन्द्रले ४७ प्रकारका औषधि निःशुल्क वितरण गर्दै आइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button