तपाईँ सुन्दै हुनुहुन्छः

गोरखाका तीन पालिकामा फलफूलको विशेष परियोजना लागु हुने

गोरखा । जिल्लाका तीन पालिकामा फलफूलको विशेष परियोजना लागू हुने भएको छ । 

पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना प्रादेशिक आयोजना कार्यान्वयन इकाई, गण्डकी प्रदेशका अनुसार पालुङटार नगरपालिका, सिरानचोक र आरुघाट गाउँपालिकामा यो कार्यक्रम लागु हुने भएको हो । 

परियोजनाका लागि देशभर ३४ जिल्लाको एक सय पालिका छनौट भएका छन् । ती मध्ये धेरै गण्डकी प्रदेशका रहेका छन् । गण्डकी प्रदेशको १० जिल्लाको ३४ पालिकामा यो परियोजना लागू हुने बताइएको छ । गण्डकी प्रदेशभर परियोजना लागू हुने क्षेत्रफल २५ सय हेक्टर रहेको छ ।

जस अन्तर्गत १ सय हेक्टरमा स्याउ, ८ सय हेक्टरमा सुन्तला, ७ सय ५० हेक्टरमा कागती, १ सय ५० हेक्टरमा एभोकाडो, १ सय ५० हेक्टरमा किवी, २ सय ५० हेक्टरमा ओखर र २ सय ५० हेक्टरमा मेकाडेमियानट खेती हुनेछ । २ हजार ३ सय ५० हेक्टर क्षेत्रमा नयाँ बगैँचा निर्माण गरिने भएको हो । 

देशभर एक हजार हेक्टरमा तरकारी तथा रैथाने बाली खेती गर्ने र दश हजार हेक्टरमा कागजी बदाम, स्याउ, एभोकाडो, कागती, सुन्तला, जुनार, किवी, मेकाडेमिया नट, पिकानट र ओखरका बगैँचा स्थापना गर्ने कार्यक्रम रहेको प्रादेशिक आयोजना कार्यान्वयन इकाई, गण्डकी प्रदेशले जनाएको छ । 

परियोजनाको कुल बजेट करिब १२ अर्ब ५५ करोड रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button