तपाईँ सुन्दै हुनुहुन्छः

पुल क्षेत्रमा बालुवा गिट्टी थुप्रेकाले पुल र बस्ती जोखिममा

जनकपुरधाम । पूर्व पश्चिम लोकमार्ग अन्तरगत धनुषाको चारनाथ खोलामा रहेको पुल जोखिममा परेको छ ।

चुरे दोहनका कारण ठूलो मात्रामा बालुवा तथा गिट्टी पुल वरिपरि जम्मा भएकाले यस पटकको वर्षा तथा बाढीको समयमा पुलमा जोखिम बढाउने खतरा रहेको छ ।

पुलको पिलरको माथि सम्मको भागमा बालुवा गिट्टी थुप्रेका कारणले कुनै पनि बेला पुलमा क्षति हुने खतरा रहेको छ । पुलको ५ सय मिटरमा बालुवा गिट्टी हटाउन नमिल्ने भएकाले नगरपालिकाले ठेक्का लगाउँदा पनि हटाउन नमिल्ने भएकाले सडक डिभिजन कार्यालयले नै हटाउनु पर्ने प्रावधान रहेको छ ।

यसका साथै पुलको पाँच सय मिटर उत्तर र दक्षिणको भागमा बालुवा तथा गिट्टी उत्खननमा कानूनी रुपमा रोक लगाइएकाले बालुवा तथा गिट्टी भारी मात्रामा थुप्रेका कारण बाढी आएको खण्डमा आधा दर्जन गाउँ उच्च जोखिममा पर्ने देखिएको छ ।

धनुषाको रघुनाथपुर, सवैला बढी जोखिममा रहेका छन् । खोलामा बाढी आएको खण्डमा पानी सोझै बस्तीमा जाने र यसले धनजनको व्यापक क्षति गर्ने भएकाले जिल्ला समन्वय प्रमुख राजनन्दन मण्डलको अध्यक्षतामा बैठक बसेर यसको तत्काल समाधान खोज्नका लागि पहल गर्ने निर्णय गरेको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल सहितको प्रतिनिधि मण्डलले चारनाथ खोलाको वास्तविक अवस्थाको विषयमा स्थलगत अनुगमन गर्ने निर्णय भएको जिल्ला समन्वय समिति धनुषाका निमित्त समन्वय अधिकारी राजाराम मण्डलले जानकारी दिनुभयो ।

स्थानीय प्रशासनले उक्त खोलाको ठेक्का पट्टका साथै बालुवा उत्खननमा रोक लगाएका कारण अहिलेको अवस्था सृजना भएको बताइएको छ । समयमा ती सामाग्रीहरू नहटाएको खण्डमा पुलको पूर्वको पिलर भासिने र यसले राजमार्ग नै अवरोध हुने खतरा रहेको समन्वय प्रमुख राजनन्दन मण्डलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button