तपाईँ सुन्दै हुनुहुन्छः

‘वानीरा पुरस्कार’ वैरागी काइँलालाई

काठमाडौं । साहित्यकार बैरागी काइँलालाई नगद रु एक लाख राशिको ‘वानीरा प्रज्ञा पुरस्कार’ प्रदान गरिएको छ ।

नेपाली भाषा साहित्यको श्रीवृद्धिका लागि सात दशकदेखि काव्य साधनामा समर्पित रहेको भन्दै वानीरा फाउन्डेसनले साहित्यकार काइँलालाई नगदसहित सम्मान पत्रद्वारा पुरस्कृत गरेको हो ।

त्यसैगरी, नेपाली कविताको संवर्द्धनमा योगदान पुर्‍याएको भन्दै साहित्यकार गोपाल पराजुलीलाई रु ५० हजार राशिसहित वानीरा पुरस्कार प्रदान गरियो । भीमबहादुर बोटेलाई पनि रु २५ हजार नगदसहित वानीरा सेवा पुरस्कार प्रदान गरिएको छ ।

सबै पुरस्कार आज आयोजित एक कार्यक्रमका बीच फाउन्डेसनका संरक्षक इन्जिनियर शङ्कर गिरीले प्रदान गर्नुभयो ।

साहित्यकार काइँलाले विशेष गरी तेस्रो आयामको प्रवर्द्धनका साथै नेपाली कविताको संवर्द्धनमा विशिष्ट योगदान पुर्‍याउनुभएको छ ।

नेपाली साहित्यका विश्व नारी रत्न डा वानीरा गिरीको सम्झनामा पुरस्कार स्थापना गरिएको हो । उहाँ नेपाली साहित्यमा विद्यावारिधि गर्ने प्रथम महिला हुनुहुन्छ । कोरोनाका कारण गिरीको विसं २०७८ जेठ ९ गते निधन भएको थियो । गिरी विश्व नारी नेपाली साहित्य रत्नको उपाधिका साथै प्रबल गोरखा दक्षिण बाहु, महेन्द्र विद्याभूषण (प्रथम), रत्नश्री पदक, भानुभक्त स्वर्ण पदक, मधुपर्क पुरस्कार, साझा पुरस्कार आदिबाट सम्मानित हुनुभएको थियो ।

सो अवसरमा पुरस्कृत काइँला र पराजुलीले भगवती बस्नेतद्वारा सम्पादित ‘वानीरा अभिलेख’ को लोकार्पण गर्नुभएको थियो । पुरस्कृत द्वय काइँला र पराजुलीले मुलुकको सबैखाले भाषा तथा साहित्य संरक्षणका लागि सबै सर्जक जुट्नुपर्ने खाँचो औँल्याउनुभयो । पुरस्कारले साहित्य सिर्जनाको यात्रालाई थप ऊर्जा थपेको उहाँहरूको भनाइ थियो ।

फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईँ र सदस्यसचिव नरेन्द्रराज प्रसाईँले संस्थाले साहित्य सिर्जना र प्रवर्द्धनका लागि संस्थाले खेलको भूमिकाबारे उल्लेख गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button