तपाईँ सुन्दै हुनुहुन्छः

मुस्लिम धर्मावलम्बीहरूले इद पर्व मनाउँदै

जनकपुरधाम । इस्लाम धर्मावलम्बीले जनकपुरधामको विभिन्न मस्जिद तथा ईदगाहरुमा भेला भएर नवाज पढ्नुका साथै एक महिना लामो रोजा तोडेका छन् ।

जनकपुरधामसहित मधेश प्रदेशका विभिन्न जिल्लाका मस्जिद तथा इदगाहमा मुस्लिम धर्मावलम्बीहरूको भिड रहेको छ । कतिपय इदगाहमा हिन्दुहरूले पनि मुस्लिम धर्मावलम्बीहरूलाई शुभकामना दिने गर्दछन् ।

रमदान अर्थात् रमजान महिना सकिएको खुसीयालीमा एक अर्कामा शुभकामना साटासाट गरी दान गरेर इदुलफित्र (ईद) मनाउने गरिन्छ । हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् ।

चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्ल पक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।

ईद पर्वमा अल्लाह (भगवान्) का नाममा विशेष नमाज (प्रार्थना) गर्ने इस्लाम परम्परा छ । इदका दिन इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी (धर्मगुरु)ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्छन् ।

धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइ (गहुँको पिठोबाट बनाइएको खाद्यवस्तु) को खिर र मिष्ठान्न परिकार खाने–खुवाउने तथा वितरण गर्ने चलन छ ।

यस पर्वमा बस्तीभित्रको मस्जिदमा सबै पुरुष भेला भएर सामूहिक नमाज पढ्ने परम्परा छ । ईदमा इस्लाम धर्मावलम्बीले गरिब र असहायका लागि ‘जकात’ अर्थात् आफ्नो कमाइको अढाई प्रतिशत रकम कोषमा दिने परम्परा पनि छ । प्रत्येक बस्तीमा रहेको मस्जिद व्यवस्थापनले यो कोष सञ्चालन गर्ने गर्दछन् ।

इदको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा पनि दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button