तपाईँ सुन्दै हुनुहुन्छः

‘समाजमा मेलमिलाप हुने स्थिति निर्माण गरेर अघि बढिने’

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रतिनिधिसभामा प्रस्तुत भएको सङ्क्रमणकालीन न्याय–(टिआरसी) सम्बन्धी विधेयकलाई चाँडो भन्दा चाँडो टुङ्गोमा पुर्‍याउने निष्कर्षमा काँग्रेस पुगेको बताउनुभएको छ ।

नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबार काठमाडौँले आयोजना गरेको संसदमा प्रस्तुत विधेयकबारे अन्तरक्रियात्मक कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै कांग्रेसका प्रमुख सचेतक लेखकले पीडितहरूले न्याय पाउने, समाजमा मेलमिलाप पनि हुने स्थिति निर्माण गरेर अघि बढ्ने बताउनुभयो ।

विधेयकलाई चाँडो भन्दा चाँडो कानून बनाएर सशस्त्र द्वन्द्वका बेला भएका घटनाहरू उचित ढङ्गबाट निष्कर्षमा पुर्‍याउने छलफलको विषय रहेको समेत उहाँले जानकारी दिनुभयो ।

छलफलमा बेपता पारिएका व्यक्तिको छानबिन आयोगका पूर्व सदस्य डा.गंगाधर अधिकारी, संवैधानिक कानून व्यवसायी मञ्च नेपालका पूर्व अध्यक्ष राजु चापागाईँ, सत्य निरुपण तथा मेलमिलाप आयोगका पूर्व अध्यक्ष गणेश दत्त भट्ट, संविधान सभा सदस्य एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी र पूर्व मन्त्री एवं संविधान सभा सदस्य मिनेन्द्र प्रसाद रिजालले नेपाली कांग्रेसका सांसदहरूलाई प्रशिक्षण दिनुभएको थियो ।

बेपता पारिएका व्यक्तिको छानबिन आयोगका हालसम्म भएका र अब गर्नुपर्ने काम, ऐन माथि संशोधनको आवश्यकता र अन्तर्राष्ट्रिय कानूनी सन्दर्भ, सत्य निरुपण तथा मेलमिलाप आयोगले गरेका काम र अबको बाटो र कानून अन्तर्राष्ट्रिय चासो र संसदमा प्रस्तुत संशोधन विधेयकको आवश्यकताका विषयमा केन्द्रित भएको नेपाली कांग्रेसका प्रमुख सचेतक लेखकले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button