तपाईँ सुन्दै हुनुहुन्छः

गुठी संस्थानको जग्गाबाट माटो उत्खनन गर्नेलाई कारबाही गरिने

वीरगञ्ज । गुठी संस्थान को ५२ बिगाहा जग्गामा अवैध माटो उत्खनन र ठेक्काको दुरुपयोग गर्नेमाथि कडा भन्दा कडा कारबाही गर्ने गुठी संस्थान वीरगन्जले जनाएको छ ।

आइतबार वीरगन्ज महानगरपालिकाले अनुमति नलिई गुठी संस्थानको नाममा रहेको जग्गाको माटो उत्खनन गर्ने स्काभेटरसहित ४ वटा टिपर नियन्त्रणमा लिएको थियो ।

गुठी संस्थान वीरगन्जका प्रमुख चूडामणि घिमिरे र वीरगन्ज महानगरपालिका कार्यालयका पदाधिकारीहरूले अवैध उत्खनन भइरहेको जग्गाको आज स्थलगत निरीक्षण समेत गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ साविक बगही गाविस वडा न ९ दर्दवास्थित गुठीको सार्वजनिक जग्गामा करिब २ महिना अघिदेखि अवैध रुपमा माटो उत्खनन गर्दै आएको स्थानीयले बताएका छन् ।

दर्दवास्थित नदीको छेउबाट निरन्तर रुपमा माटो उत्खनन गरी विक्री भइरहेको हुँदा यसले भविष्यमा पुरै गाउँ नै जोखिममा परेका स्थानीय रामाज्ञा राउतले बताउनुभयो ।

गुठी संस्थान वीरगन्जका कार्यालय प्रमुख चूडामणि घिमिरेले खेती गर्न ठेक्कामा लिएको जग्गाको दुरुपयोग भएको बताउनुभयो । उहाँले करिब ५२ बिगाहा जग्गा गुठीको रहेकोमा अवैध रुपमा माटो कटान गरी गाउँ नै डुबानमा पार्ने नियत देखिएको हुँदा जग्गा ठेक्कामा लिने व्यक्तिलाई कडा कारबाही गरिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button