तपाईँ सुन्दै हुनुहुन्छः

१ सय ४२ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई रु ४ लाख बराबरको छात्रवृत्ति 

भक्तपुर । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले राजनीतिक दलले निर्वाचनमा प्रतिस्पर्धा गरे पनि देशको विकास र समृद्धिमा एक भएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

अरनिको माध्यमिक विद्यालय गाम्चामा आज आयोजित छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै उहाँले समाज स्वास्थ्य र भ्रष्टाचारले गाँज्यो भनिए पनि परोपकारी,निःस्वार्थी र समाजसेवी व्यक्तिहरू समाजमा उत्तिकै सक्रिय रहेको बताउनुभयो ।

विद्यालयमा विभिन्न व्यक्तिहरूले आफ्नो पसिनाको कमाई र नीजि सम्पत्तिबाट छात्रवृत्ति कोष स्थापना गरेर समाजका विपन्न र जेहेन्दार छात्रछात्रालाई पढ्ने हौसला दिनु र आर्थिक टेवा पुर्‍याउनु त्यसैको उदाहरण भएको बताउनुभयो ।

उहाँले आफूले पढेको यही विद्यालयको शैक्षिक अवस्था सुधार्न यथासक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा अर्का प्रतिनिधिसभा सदस्य रमा कोइराला पौडेल,बागमती प्रदेशसभा सदस्य किरण थापा ,सुनपा वडा नं.४ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्षुराम न्यौपाने ,विद्यालयका प्राचार्य लेखनाथ रिमाल,  विद्यालयका पूर्व प्राचार्य प्रेमबहादुर (उद्धब)खड्का,विद्यालयका शिक्षक तथा सामाजिक अगुवा कृष्णमुरारी न्यौपाने,व्यवस्थापन समितिका पूर्व अध्यक्ष जगतबहादुर खड्का लगायतले विद्यालयको सुधार एवं शैक्षिक गतिविधिबारे चर्चा गर्नुभयो । 

कार्यक्रममा विभिन्न २० सामुदायिक तथा नीजि विद्यालयका १सय ४२ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई करिब रु४ लाख बराबरको जनक खड्का छात्रवृत्ति,सुशीला भैरव छात्रवृत्ति,सानुजगत खड्का छात्रवृत्ति तथा टिका बहादुर खड्का शिक्षाबृत्ति प्रदान गरिएको छ ।

सोही समारोहमा विद्यालयका पूर्व प्राचार्य प्रेमबहादुर (उद्धब)खड्काले मातापिताको स्मृतिमा रु ५ लाख एक हजारको अक्षयकोष स्थापना गरि थप छात्रवृत्तिको घोषणा गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button