तपाईँ सुन्दै हुनुहुन्छः

भेरी खोलामा निःशुल्क स्वास्थ्य शिविर, ४०५ जना लाभान्वित

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाको दुर्गम क्षेत्र भेरी खोलामा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय ५ जना स्थानीय लाभान्वित भएका छन् ।

आर्थिक अभावले स्वास्थ्य सेवा र उपचारबाट वञ्चित विपन्न नागरिकको राहतका ‘जनतासँग अध्यक्ष’ कार्यक्रम अन्तर्गत आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट तातोपानी वडा नं.७ र ८ का ४ सय ५ जना नागरिक लाभान्वित भएको तातोपानीका स्वास्थ्य संयोजक गुरु प्रसाद चौलागाईले बताउनुभयो ।

दुई दिन सञ्चालन भएको शिविरमा पहिलो दिन शुक्रबार २५० जना र दोस्रो दिन शनिबार १५५ जना गरी ४ सय ५ जनाले विभिन्न समस्याको जाँचसँगै स्वास्थ्य उपचार गरेका हुन् । जसमा २ सय ५१ जना महिला र १५४ जना पुरुषले शिविरमा स्वास्थ्य जाँच गराएको स्वास्थ्य संयोजक चौलागाँईले जानकारी दिनुभयो । १२ जना गर्भवती महिलाको पहिलो पटक गाउँकै ताम्ती स्वास्थ्य चौकीमा अल्ट्रासाउण्ड पनि गरिएको छ ।

तातोपानीका अध्यक्ष नन्दप्रसाद चौलागाईले दुर्गम भेरीखोला क्षेत्रका नागरिकको माग र समस्यालाई मध्यनजर गर्दै निःशुल्क शिविर सञ्चालन गरिएको बताउनुभयो ।

तातोपानी गाउँपालिकाको आयोजना तथा कर्णाली प्रतिष्ठानको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button