तपाईँ सुन्दै हुनुहुन्छः

त्रिभुवन आर्मी इटहरी गोल्डकपको अन्तिम चारमा

सुनसरी । विभागीय टिम त्रिभुवन आर्मी क्लब सुनसरीमा जारी १३ औ संस्करणको इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज मङ्गलवार भएको अन्तिम क्वाटर फाइनलमा आर्मीले झापाको रोलिंग क्लबमाथि ४–१ को फराकिलो जीत दर्ता गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

आर्मीको जीतमा दिपक गुरुङ, जिलेस्पीजंग कार्की, सुदिल राई र पदम तामाङले एक एक गोल गरे । पराजित रोलिंग क्लबका लागि विदेशी खेलाडी डेडी वाम्बाले एक गोल फर्काए ।

खेलको म्यान अफ द म्याच आर्मीका कप्तान जिलेस्पीजंग कार्की घोषित भए । उनले नगद १० हजार पाए । आजको क्वाटर फाइनल खेलसँगै इटहरी गोल्डकपको सेमिफाइनल समीकरण पनि पुरा भएको छ ।

आजको विजेता आर्मीले बिहीबार चर्च ब्वाइज युनाइटेड क्लबसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । चर्च ब्वाइज यसअघि आयोजक राष्ट्रिय जागृति क्लबलाई पराजित गर्दै सेमिफाइनल पुगिसकेको छ ।

भोलिको पहिलो सेमिफाइनल खेल साबिक विजेता सगरमाथा क्लब मोरङ र ए डिभिजन क्लब मच्छिन्द्रबिच हुनेछ । मछिन्द्रले कञ्चनजंगा फुटबल क्लब भारतलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो भने सगरमाथाले एभिनियर फुटबल क्लब क्यामरुनलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

शनिबार हुने फाइनल खेल विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button