तपाईँ सुन्दै हुनुहुन्छः

मध्य तराइका जिल्लामा आँपको मञ्जरी ढकमक्क, किसान उत्साहित

वीरगञ्ज । बारा, पर्सा, रौतहटसहित तराईका जिल्लामा यस वर्ष आँपको बोटमा अधिकतम फूल फुलेको हुँदा आँपका उत्पादन बढ्ने अनुमान किसानहरूले गरेका छन् । फलफूलको राजा मानिने आँपको बोटमा यस वर्ष पात नै नदेखिने गरी मञ्जरी ढकमक्क भएको छ ।

फलफूलको बगैँचा तथा घरको बारीमा लगाइएका आँप तथा लिचीका बोटहरूमा यस वर्ष किसानहरूले सोच्दै नसोच्ने गरी फूल लागेका कारण उत्पादन बढ्ने ठोरीका किसान जीवन सापकोटाले बताउनुभयो ।

ठोरी गाउँपालिका ४ फारलाइनमा आँपको व्यावसायिक उत्पादन शुरु गर्नुभएका धनबहादुर श्रेष्ठले आँपको बोटमा फूल हेर्दा आफैँ दङ्ग परेको बताउँदै मौसमले साथ दिएमा यसपाली दोब्बर उत्पादन हुने दाबी गर्नुभयो ।

ठोरी गाउँपालिकामा लगभग ८० बिगाहा क्षेत्रमा व्यावसायिक रुपमा आँप रोपिएको छ । जसमध्ये वडा नम्बर–४ मा मात्र २५ देखि ३० बिगाहामा आँप खेती गरिएको श्रेष्ठले बताउनुभयो ।

आँप खेतीमा एक पटक लगानी गरेपछि धेरै झन्झट नहुने र राम्रै आम्दानी हुने भएकोले पछिल्लो समय किसानहरू आँप खेतीतर्फ आकर्षित भएका छन् ।

सरकारले बीउबिजन, अनुदान, तालिम तथा भ्रमण जस्ता कार्यक्रम गरी किसानलाई हौसला दिनसके आँप खेतीबाट राम्रै फाइदा पाइने कृषक सापकोटाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button