तपाईँ सुन्दै हुनुहुन्छः

कार्टुनिस्ट दुर्गा बराललाई पोखरामा भव्य नागरिक अभिनन्दन

कास्की । कार्टुनिस्ट दुर्गा बराल ‘वात्स्यायान’ लाई पोखरामा रथारोहणसहित भव्य नागरिक अभिनन्दन गरिएको छ । ८० वर्ष पूरा भएको अवसरमा पोखरेली युवा सांस्कृतिक परिवारको नेतृत्वमा तीन दर्जन वाङ्ममय तथा सामाजिक सङ्घसंस्थाले बराललाई विशेष अभिनन्दन गरेका हुन् ।

कलाकार बरालकै निवास पोखरा-३ नदीपुरबाट सुरु भएको रथारोहण पोखरा विन्ध्यवासिनी मन्दिर परिसरमा समापन भएको थियो । बरालको अभिनन्दनका लागि बाटोमा पोखरेलीहरूले आफ्नो घरअघि गाग्रीलाई पुष्प गुच्छाले सजाएर स्वागत गरेका थिए ।

बरालले चित्रकारितामा सक्रिय भई नेपाली चित्रकारितालाई अति यथार्थवादी धारमा डोर्‍याउन गरेको अतुलनीय योगदानको कदरस्वरुप रथारोहण गरिएको पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले बताउनुभयो ।

पोखराका साहित्यकार ईश्वरमणि अधिकारीले पोखरा चिनाउने व्यक्तित्वहरूमध्ये एक बराल पनि रहेको बताउनुभयो ।

पोखरा महानगरपालिका ३ का वडाध्यक्ष प्रकाश उदासले वात्स्यायानको अभिनन्दन उहाँको कर्मको सम्मान रहेको बताउनुभयो ।

बराल १९९९ चैतमा कास्कीको आर्बामा जन्मिनुभयो । तीन वर्षमा आमा गुमाउनुभयो । विधवा भएर माइतमै बस्ने फुपूले पालनपोषण गर्नुभयो । फुपूले बनाएका माटोको मूर्ति र अगेनामाथिको मण्डला हेरेर उहाँ चित्रकलामा आकर्षित हुनुभयो ।

पञ्चायत कालमा काँग्रेसको मुखपत्र ‘राष्ट्र पुकार’ साप्ताहिकमा कार्टुन बनाउनुभएका बरालले तत्कालीन समयमा राजनीतिबाट आफूलाई खतरा हुने देखेर एक गुरुका माध्यमबाट आफ्नो नाम वात्स्यायान राख्नुभएको थियो ।

रथारोहणमा वरिष्ठ साहित्यकारहरू सरुभक्त, तीर्थ श्रेष्ठ, वरिष्ठ गायिका हरिदेवी कोइराला लगायतका कलाकार सहभागी हुनुहुन्थ्यो । साहित्यकार, कलाकार, नागरिक समाज, विद्यार्थी लगायतको ब्यानरसहित उपस्थिति थियो । समारोहमा बरालकी धर्मपत्नी, छोराहरू र परिवारका अन्य सदस्यको पनि उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button