तपाईँ सुन्दै हुनुहुन्छः

दोस्रो अक्षरा बाल साहित्य महोत्सव सम्पन्न

काठमाडौँ । अक्षरा स्कुलले आयोजना गरेको दोस्रो अक्षरा बाल साहित्य महोत्सव सम्पन्न भएको छ । उपत्यका भित्रका सरकारी तथा संस्थागत गरी २५ भन्दा बढी विद्यालय र ४००० भन्दा बढी अभिभावकहरूबिच विभिन्न कार्यक्रम गरी अक्षरा स्कुलले साहित्य महोत्सव गरेको हो ।

महोत्सवका प्रमुख अतिथि कलाकार मदनकृष्ण श्रेष्ठले बालबालिकाहरूलाई विद्यालय तहदेखि नै साहित्यको ज्ञान दिनु निकै अर्थपूर्ण भएको बताउनुभयो । उहाँले कार्यक्रममा बोल्दै साहित्य विधा आफैँमा महत्त्वपूर्ण भएकाले हरेक व्यक्ति साहित्यकार बन्न सक्ने उल्लेख गर्नुभयो ।

बालबालिकाहरूमा पठन संस्कृतिको विकास र विशेष गरी साहित्यमा ज्ञान अभिवृद्धिका लागि आयोजित महोत्सवमा विद्यार्थीहरू र शिक्षकहरूलाई भाषा शिक्षण, लेखन सीप, रेडियो नाटक, पुस्तकको आवरण चित्र, लेखक अध्ययन, पात्र चित्रण लगायतका विभिन्न शीर्षकमा साहित्य सम्बन्धी कार्यशाला गरिएको हो । महोत्सवमा विभिन्न विद्यालयका विद्यार्थीहरूलाई कक्षाहरूमा पाठ्युपुस्तकसंगै साहित्यका पुस्तक रमाइलो र अर्थपूर्ण तरिकाले शिक्षण गर्ने विषयमा समेत अन्तरक्रिया गरिएको थियो ।

बालबालिकाहरूमा निर्धारित पाठ्यपुस्तक बाहेक पठन संस्कार विकाश गर्ने उद्देश्यले लेखक निलम कार्की निहारिका र बुद्धिसागरसंग अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रममा लेखकहरूले व्यवहारिक ज्ञानका लागि पाठ्यक्रम बाहिरका पुस्तक बढी आवश्यक भएको बताउनुभयो ।

अक्षरा स्कुलकी प्रिन्सिपल अन्जु भट्टराइले बाल साहित्य महोत्सवको माध्यमबाट बालबालिकामा पठन संस्कृतिको विकास गर्न सकिने बताउनुभयो । उहाँले व्यवहारिक ज्ञान र बौद्धिक क्षमता विकासका लागि साहित्यसम्बन्धी पुस्तकको ज्ञान दिइनु अत्यावश्यक रहेको र बाल सुलभ मस्तिष्कमा नै पठन संस्कार विकास गर्न सकेमा कालान्तरमा सकारात्मक प्रभाव पर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button