तपाईँ सुन्दै हुनुहुन्छः

दशगजा सफा गर्दै नेपाल-भारतका सुरक्षाकर्मी

भद्रपुर, झापा ।  झापाको भद्रपुर र भारतको गलगलिया अन्तर्गतको सीमा नाकाको दशगजा क्षेत्रमा छरिएर रहेका फोहोर–मैला व्यवस्थापनका लागि दुवै देशका सुरक्षाकर्मी जुटेका छन् । 

दुबै देशका सुरक्षाकर्मीहरूले शुक्रबार बिहान दशगजा क्षेत्र सरसफाइ गरी सङ्कलित फोहोरमैला आगो लगाएर व्यवस्थापन गरेका हुन् । उनीहरूले सीमा पिलर वरिपरि पलाएको झार तथा बुट्यान पनि काटेर सफा गरेका हुन् । 

सरसफाइ कार्यक्रममा सशस्त्र प्रहरी बल (बीओपी) भद्रपुरका प्रहरी निरीक्षक रामकुमार घिमिरे, वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक सन्तोषकुमार बुढाथोकी, भारतीय सुरक्षा बल (एसएसबी) ४१ बटालियन भादगाउँका कमान्डर हर सिन्हा, भद्रपुर नगर प्रहरी इन्चार्ज चन्द्र प्रधानको नेतृत्वमा सुरक्षाकर्मीहरू सरसफाइमा खटिएका थिए । सरसफाइमा स्थानीयले पनि साथ दिएका थिए । 

नगर क्षेत्रमा ल्याण्डफिल्ड साइट नहुँदा भद्रपुर नगरपालिकाले वर्षौंदेखि मेच नदी किनारको दशगजा क्षेत्रमा फोहोरमैला फाल्दै आइरहेको छ । जथाभाबी फोहोर मैला फालिँदा नदी किनार नजिकै बसोबास गर्ने स्थानीयवासीले दुर्गन्धित वायु प्रदूषणको समस्या झेल्दै आइरहेका छन् ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button