तपाईँ सुन्दै हुनुहुन्छः

सङ्कटमा पुगेको सल्यानी खुकुरीको ब्राण्डिङ गरिने 

सल्यान । देश विदेशमा सल्यानको चिनारी बनेको सल्यानी खुकुरी दक्ष युवा जनशक्तिको अभावका कारण सङ्कटमा परेको छ खुकुरीको माग र व्यवसाय राम्रो भए पनि दक्ष कालिगडको अभावमा सङ्कटमा पर्दै जान थालेको हो । 

वि.स.२०१७ सालतिर तत्कालीन राजा महेन्द्र शाहले सल्यानी खुकुरी परिचित गराउन महत्वपूर्ण भूमिका खेलेको जनविश्वास रहेको छ । 

सल्यान भ्रमणका क्रममा खुकुरी देखेपछि सल्यानी खुकुरी प्रवद्र्धन गर्ने प्रतिबद्धता सहित काठमाडौँमा प्रदर्शनमा राखिएको बुढापाकाहरूको भनाई छ । 

देश तथा विदेशमा समेत राम्रो माग भइरहेको सल्यानी खुकुरीलाई ब्राण्डिङ गर्न शारदा नगरपालिकाले योजना अघि सारेको छ । 

पछिल्लो समय युवा पुस्ताको जागर हराउँदै गएको र सल्यानी खुकुरी पनि लोप हुने डरले नगरपालिकाले खुकुरी ब्राण्डिङ गरि विश्व बजारमा पहिचान स्थापित गराउने उद्देश्यले योजना अघि सारेको नगरपालिकाले जनाएको छ ।  

देशमै प्रसिद्ध सल्यानी खुकुरीलाई ब्राण्डिङ गरि विश्व बजारमा पहिचान स्थापित गराउने उद्देश्यका साथ नगरपालिकाले योजना अघि सारेको नगरप्रमुख प्रकाश भण्डारीले बताउनुभयो ।  खुकुरी व्यवसायीहरूसँग छलफल गरि समिति समेत गठन गरिएको उहाँको भनाई छ  । 

उहाँका अनुसारे खुकुरी व्यवसायीलाई एकीकृत गरि सीप, तालिम र उत्पादनको कामलाई अगाडि बढाउने छ, त्यसका लागि नगरपालिकाले उचित कार्यक्रम, बजेट व्यवस्थापन र माथिल्ला  निकायसँग पहल गरिने छ । 

व्यावसायिकभन्दा पनि निर्वाहमुखी तरिकाले खुकुरी बनाउने पेशा अँगालेका यहाँका स्थानीयलाई प्रोत्साहित गर्दै व्यावसायिक खुकुरी उत्पादनमा लाग्ने वातावरण सिर्जना गर्न खुकुरीको प्रवद्र्धन, ब्राण्डिङ र बजारीकरणको योजना अघि सारिएको बताउनुभयो  । 

जिल्लामा सल्यानी, सिरुपाते, ओखोला, टोरा दुई चिरा, हवल्दार, क्षत्रीलगायत नामका खुकुरी व्यवसायीहरूले उत्पादन गरिरहेका छन्  । खुकुरी, उपहार स्वरूप दिने क्रम बढेकाले माग बढेपनि यिनीहरुले माग अनुसार उत्पादन गर्न सकेका छैनन् । खुकुरी बनाएर एकै जनाले मासिक २० हजार रुपैयाँभन्दा बढी कमाउने गरेपनि युवा पुस्ता यो पेसामा संलग्न नभएको खुकुरी व्यवसायी बिष्णु विश्वकर्माले बताउनुभयो । 

उहाँका अनुसार जनशक्तिको अभावका साथै कोइला पनि पर्याप्त मात्रामा नपाइने समस्या छ । उहाँले भन्नुभयो, देशभित्र मात्र होइन विदेश जानेहरूले पनि उपहारका रूपमा खुकुरी रोज्ने गरेकाले छन्, यहाँ उत्पादन हुने खुकुरी सल्यानकै चिनारी बनिसकेको छ, तर नयाँ पुस्ताले रुचि नदेखाएकाले पुरानो पुस्ता पुर्ख्यौली पेशा हराउने त होइन भनेर चिन्तित छौँ । 

सल्यानी खुकुरी उपहारका रूपमा काठमाडौँ, नेपालगञ्ज, बुटवल, विराटनगर, झापादेखि अमेरिका, अस्ट्रेलिया, युरोप, जापान लगायत देशमा पठाउने गरिएको छ । एउटा खुकुरीको मूल्य एक हजारदेखि सात हजार पाँच सय रुपैयाँसम्म पर्छ । विशेष गरि उपहारमा यो खुकुरी जाने गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button