तपाईँ सुन्दै हुनुहुन्छः

सन्धिखर्कमा दुई वर्षपछि हाटबजार सञ्चालन, किसानलाई सहज 

अर्घाखाँची । कोरोना सङ्क्रमणका कारण बन्द भएको अर्घाखाँचीको सन्धिखर्कमा लाग्ने हाटबजार दुई वर्षपछि थप व्यवस्थापनसहित सञ्चालनमा आएको छ ।

बसपार्क नजिक लाग्ने साप्ताहिक बजारमा तरकारी, फलफूल, दैनिक उपभोग्य सामान, भाँडाकुटी लगायत सामग्री पाइन्छ । ताजा र सस्तो पाइने भएपछि त्यहाँ निकै भिड लाग्ने गर्थ्यो । तर, कोरोना महामारी फैलिएपछि सङ्क्रमणका डरले बजार दुई वर्षदेखी बन्द रहेको थियो । 

हरेक हप्ताको शुक्रबार सञ्चालन हुँदै आएको हाटबजारमा सन्धिखर्क नगरपालिकाको जगत, बाँगी, घोंचेखोला, डिभर्ना भुमिकास्थान नगरपालिका र मालारानी गाउँपालिकाका केही ठाउँका कृषकले उत्पादन गरेका कृषि सामग्री हाटबजारमा बिक्रीका लागि ल्याउने गर्छन् ।

कोरोना सुरु हुनुअघि ठूलो परिमाणमा कृषि उपज बिक्री गर्ने किसानले कोभिडपछि सुरु भएको बजारमा समेत सोही परिमाणमा सामग्री बेचिरहेका छन् । 

“पहिले व्यापार राम्रै थियो, अहिले कोरोनापछि यहाँ किन्न आउने मानिसमा उत्तिकै उत्साह छ”, हाटबजारमा तरकारी बिक्री गर्दै आउनुभएकी कृषक गोमा न्यौपानेले भन्नुभयो ।, “बजार नचल्दा घर चलाउन मुस्किल थियो, बजार लाग्ने भएपछि राहत भएको छ ।”

हाटबजार नचल्दा सानो परिमाणमा उत्पादन गर्ने कृषकलाई गाह्रो भएको थियो । धेरै उत्पादन गर्ने कृषकले अन्यत्र बजार पाएपनि थोरै उत्पादन गरेर निर्वाह गर्ने कृषकलाई धौ–धौ भएको थियो ।

हाटबजारमा तरकारी, फलफूल, दैनिक उपभोग्य सामान, भाँडाकुटी, मासुजन्य सामग्री, खाजा लगायतका स्टलहरू रहेको अर्घाखाँची–सन्धिखर्क कृषि उत्पादन तथा बजारीकरण समूहका सचिव सहयोगी बिसीले बताउनुभयो ।

“किसानलाई हाटबजार आएका बेला तरकारीसँगै अन्य घरायसी सामग्री आवश्यक परेमा खरिद गर्न सहज हुने गरी स्टल राखेका छौँ”, उहाँले भन्नुभयो, “स्थानीय कृषकले हाटबजारमा स्टल राखे बापत कुनै शुल्क तिर्नु पर्दैन ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button