तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाको नयाँ भेरियन्टबाट जोगिन जिल्ला प्रशासन कार्यालयको आग्रह

भक्तपुर । जिल्ला प्रशासन कार्यालय, भक्तपुरले कोरोनाबाट जोगिन जिल्लावासीलाई आग्रह गरेको छ । छिमेकी भारत,चीन सहित अन्य मुलुकमा फैलिएको कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै प्रशासनले सतर्क रहन आग्रह गरेको हो । 

कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट छिमेकी मुलुकमा देखिएको हुनाले सजग रहन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्माले बताउनुभयो । यसको असर नेपालमा पनि पर्नसक्ने अवस्थाप्रति सजग रहन आवश्यक रहेको उहाँको भनाइ छ । 

जिल्ला प्रशासन कार्यालयले कोरोना सङ्क्रमणको जोखिम तथा असरबाट सुरक्षित रहन र बढी भिडभाड हुने स्थानमा नजान पनि आज एक सूचना मार्फत अपिल गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले सूचना जारी गर्दै सार्वजनिक यातायात तथा बढी भिडभाड हुने स्थानहरूमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्न, एकअर्काबीच भौतिक दूरी कायम राख्न,व्यक्तिगत सरसफाइ र स्वास्थ्य प्रोटोकल पालना गर्न–गराउन सुसूचित गराउनुभएको छ । 

साथै हालसम्म बुस्टर डोज लगाउन छुटेका सबैलाई नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी खोप लगाउन प्रशासनले सुसुचित गराएको छ ।छिमेकी भारतसहित अन्य मुलुकमा कोरोनाको नयाँ भेरियन्ट देखिएको उल्लेख गर्दै प्रशासनले त्यसको जोखिम र असर नेपालमा पनि पर्न सक्ने बताएको छ । 

त्यस्तै स्वास्थ्य कार्यालय भक्तपुरले तयार गरी स्थानीय तहहरूमा पठाएको सन्देशमूलक सामग्रीहरु व्यापक प्रचारप्रसार गर्न प्रशासनले अनुरोध गरेको छ। वडा स्तरबाटै स्वास्थ्य प्रोटोकलको पालना गर्ने–गराउने व्यवस्था स्थानीय तहहरुले मिलाउनुपर्नेमा प्रशासनले जोड दिएको छ ।

धेरै मानिस जमघट हुने कार्यक्रम सञ्चालन गर्दा अनिवार्य रुपमा जनस्वास्थ्य मापदण्डको पालना गराउन सम्बन्धित आयोजकलाई निर्देशन दिइएको छ । सबै सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक संस्थान, गैरसरकारी संस्था, निजी क्षेत्र, सञ्चारमाध्यमलगायत सबै पक्षलाई स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न भनिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button