तपाईँ सुन्दै हुनुहुन्छः

सदुपयोग गर्न नसकिएको भन्दै गाउँपालिकाको अनुदान रकम फिर्ता

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका ६ जना स्थानीय युवाहरूले गाउँपालिकाले दिएको अनुदान रकम फिर्ता गरेका छन् ।

साबुन उद्योग सञ्चालनका लागि लिएको अनुदान रकम सदुपयोग गर्न नसकेको महसुस गर्दै स्थानीय युवाहरूले गाउँपालिकाद्वारा प्रदान गरिएको पाँच लाख ६४ हजार अनुदान रकम फिर्ता गरेका हुन् ।

नेपालमा अनुदान लिएर रकम दुरुपयोग गरेका थुप्रै उदाहरण छन् । तर, अनुदान रकम सदुपयोग गर्न नसकिएको महसुस गरी रकम गाउँपालिकालाई नै फिर्ता गरेर युवाहरूले उदाहरणीय काम गरेका छन् । सर्वसाधारणले तिरेको करबाट लिएको अनुदान सदुपयोग गर्न नसकेको भन्दै रकम फिर्ता गरिएको उनीहरूको भनाइ छ ।

आर्थिक वर्ष २०७६/०७७ मा स्थानीय ६ जना युवा मिलेर गाउँपालिकाको अनुदानमा बागमती साबुन उद्योग सञ्चालन गरेका थिए ।

कोभिड १९ का कारण व्यवसाय फस्टाउन नसकेको, जडान गरेका उपकरण बिग्रिएका कारण उद्योग सञ्चालन गर्न समस्या देखिएपछि सञ्चालक समितिको बैठक बसेर अनुदान रकम फिर्ता गर्ने निर्णय गरेको सञ्चालक मध्येका गोविन्दराज दुलालले बताउनुभयो । अनुदान रकम गाउँपालिकाको राजस्व खातामा नगद दाखिला गरी भौचर गाउँपालिकालाई बुझाएको उहाँले बताउनुभयो ।

स्थानीय युवाहरू गोविन्दराज दुलाल, सन्तोष घिमिरे, होमनाथ दाहाल, यम प्रसाद आचार्य, सुरेन्द्र तिमल्सिना र सुशील तिमल्सनाले अनुदान रकम फिर्ता गरेका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button