तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा अछाममा साढे १७ हजार मत बदर

अछाम । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अछाममा १७ हजार ५ सय १३ मत बदर भएको छ । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभा प्रत्यक्ष र समानुपातिक गरी सो सङ्ख्यामा मत बदर भएको हो । 

प्रतिनिधिसभा क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ ४१ हजार ३ सय ९२ मत खसेको थियो । जसमध्ये १ हजार ९ सय ७७ मत बदर भएको छ । 

यस्तै प्रतिनिधिसभा क्षेत्र नं.२ मा प्रत्यक्षतर्फ ४१ हजार ७ सय ३५ मत खसेको थियो । जसमध्ये १ हजार ९ सय ६२ मत बदर भएको निर्वाचन अधिकारी कृष्णसिंह नायकले जानकारी दिनुभयो । 

निर्वाचन क्षेत्र नं.१ अन्तर्गत प्रदेश (क) मा प्रत्यक्षतर्फ १९ हजार ३ सय ४८ मत खसेकोमा ५ सय १४ मत बदर भयो । प्रदेशसभा (ख) मा प्रत्यक्षतर्फ २१ हजार ८ सय २५ मत खसेकोमा ६ सय ९१ मत बदर भएको छ । 

त्यस्तै, निर्वाचन क्षेत्र नं.२ अन्तर्गत प्रदेश (क) मा प्रत्यक्षतर्फ २० हजार ६ सय ६३  मत खसेकोमा १ हजार २० मत बदर भयो । प्रदेशसभा (ख) मा प्रत्यक्षतर्फ २१ हजार १ सय मत खसेकोमा ८ सय २१ मत बदर भएको छ । 

प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ अछाम क्षेत्र नं. १ मा ४२ हजार २ सय ८१ मत खसेकोमा दुई हजार ४ सय ५९ मत बदर भएको छ । क्षेत्र नं.२ मा ४२ हजार ७ सय २३ मत खसेकोमा २ हजार ८ सय ३२ मत बदर भएको छ । 

अछाम निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा सदस्य समानुपातिकतर्फ ४१ हजार ४ सय ४६ मत खसेकोमा दुई हजार ३ सय ४२ मत बदर भएको छ । 

यस्तै निर्वाचन क्षेत्र नं.२ प्रदेशसभा सदस्य समानुपातिकतर्फ ४१ हजार ६ सय २२ मत खसेकोमा २ हजार ८ सय ९५ मत बदर भएको निर्वाचन अधिकारी नायकले जानकारी दिनुभएको छ । 

मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नहुँदा यति धेरै सङ्ख्यामा मत बदर भएका बताइएको छ । 

जिल्ला निर्वाचन कार्यालय अछामका प्रमुख नायकले भने मतदाता शिक्षा प्रभावकारी नभएको भन्न नमिल्ने बताउनुभयो । जिल्लाका सबै वडामा स्वयंसेविका परिचालन गरेर १५ दिन समुदाय स्तरमै पुगेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको निर्वाचन अधिकारी नायकको भनाई रहेको छ ।  धेरैजसो बदर भएको मत एउटै मतपत्रमा रहेका दुई वा दुईभन्दा बढी चुनाव चिन्हमा स्वस्तिक छाप लगाएको भेटिएको निर्वाचन अधिकारी नायकले बताउनुभयो । 

गत वैशाखमा एउटै मतपत्रमा ७ छाप लगाउनुपर्ने व्यवस्था रहेको र अधिकांशले सोही प्रकार गर्नुपर्ने ठानेर त्यसो भएको हुनसक्ने बताइएको छ । 

अछाममा १ लाख ५८ हजार ६ सय ५७ मतदाता रहेकामा ८३ हजार १ सय सय २७ मत मात्रै खसेको थियो । प्रतिनिधिसभाका लागि दुई र प्रदेशसभा सदस्यका लागि चार क्षेत्र रहेको यस जिल्लामा १८ उम्मेदवार चुनावी मैदानमा रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button