तपाईँ सुन्दै हुनुहुन्छः

पश्चिम नवलपरासी–१ मा कांग्रेसका चौधरी निर्वाचित

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापश्चिम)–१ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार विनोदकुमार चौधरी निर्वाचित हुनुभएको छ । निकटतम प्रतिस्पर्धी जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीलाई सात हजार एक सय ७८ मतान्तरले पछि पार्दै उहाँ निर्वाचित हुनुभएको हो । 

जिल्ला निर्वाचन अधिकृत सुजाता खत्रीका अनुसार कांग्रेस उम्मेदवार चौधरी २९ हजार चार सय ९५ मत ल्याएर विजयी हुनुभएको हो । त्रिपाठीले भने २२ हजार तीन सय आठ मत प्राप्त गर्नुभयो । संविधानसभाको पहिलो निर्वाचन २०६४ र संसदीय निर्वाचन २०७४ मा समानुपातिकतर्फबाट संसद् प्रवेश गर्नुभएका चौधरी यसपटक प्रत्यक्षतर्फ निर्वाचित हुनुभएको हो । 

चौधरी २०६४ सालमा नेकपा (एमाले) तथा २०७४ सालमा काँग्रेसको समानुपातिक कोटाबाट संसद् प्रवेश गर्नुभएको थियो । पश्चिम नवलपरासी–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले १२ हजार पाँच सय ९९ तथा जनमत पार्टीका गुलावप्रसाद चौधरीले पाँच हजार नौ सय ४४ मत प्राप्त गर्नुभयो । यहाँ एक लाख १८ हजार दुई सय ५० मतदाता रहेकामा ८४ हजार तीन सय ३५ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button