तपाईँ सुन्दै हुनुहुन्छः

अर्घाखाँचीबाट रायमाझी चौथो पटक निर्वाचित

अर्घाखाँची । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको अर्घाखाँचीका तीनवटै सिटमा नेकपा (एमाले) विजयी भएको छ ।

प्रतिनिधिसभामा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझी तथा प्रदेशसभा (१) मा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्य र प्रदेशसभा (२) मा रामजीप्रसाद घिमिरे विजयी हुनुभएको हो ।

निर्वाचित तीनैलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित भएको घोषणा गर्नाका साथै प्रमाणपत्र प्रदान गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले एक कार्यक्रमको आयोजना गरी विजयी घोषणा गर्नाका साथै प्रमाणपत्र प्रदान गरेको हो ।

प्रमाणपत्र ग्रहण गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित रायमाझीले सबै पक्षसँग समन्वय र सहकार्य गरेर देशको एक मात्र लक्ष्य समृद्ध नेपाल र सुखी नेपाली बनाउन लागिपर्ने बताउनुभयो ।

रायमाझी ४२ हजार छ सय ७५ मत प्राप्त गरी विजयी हुनुभएको हो । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा निवर्तमान उपसभामुख पुष्पा भुसालले ४० हजार नौ सय ४५ मत प्राप्त गर्नुभयो । रायमाझी एक हजार सात सय ३० मतान्तरले विजयी हुनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button